1 2 3 4

गजल

हावा हो मन पानी हो मन ।
फूलैफूल्को जवानी हो मन ।

रम्छ सधैं अरुकै खुसीमा,
भावको ठुलो खानी हो मन ।
ब्लग सम्प्रेषक- Yatri Shekhar

मलाई जैतुनको फूलले रुवाउँछ !!!


मलाई जैतुनको फूलले रुवाउँछ !!!
दीप्स शाह
deepssanu@gmail.com
भूमध्यसागरिय बयली हावाको षोडशी स्पर्शमा
जैतुनका फूलहरु झर्न थाले पछी
अप्रिल महिनाको इजरायली भुइँ
सेतो खैरो फूलतन्नाले ढाकिएपछी
बैशाखे न्यानो घाम हिमालपारी कल्पिंदै
नयाँ बर्षको नयाँ उमङ्ग
पुरानो सपनाको शहरभित्र कतै फूटपाथमा बिस्कुन राखेर
निमेकमा पसिना सटही गर्दा
भक्कानिएर मन यसरी डाँको छोड्छ ..
यो सग्लो हृदय कती ठाउँमा चिरा पर्छ
प्रिये! ,,
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसङ्गको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने य निर्दोश पातपातले रुवाउँछ !
कसम! मलाई जैतुनको फूलले रुवाउँछ !!!

टहल्छु कतै तिमीलाई बिर्सन
हराउँछु उसै आँफैलाई बिर्सन
जब फुटपाथमा कालो बिरालोले बाटो काट्छ
कतै धूपीको टुप्पोबाट काग च्याँट्ठिन्छ
थाहा छ यो संयोग हुनसक्ला
थाहा छ यो केही सत्य नहोला
तर मनमा भुकम्पले धक्का दिन्छ
कि कतै तिमी दुख्यौकी!
यो हेमन्तिय मग्मग शुवासले पिरोल्छ
यो सपना-शहरको हरेक रमझमले चिमोट्छ,
जब अक्टोबरको महिना क्लानितले रङ्गिन्छ
त्यो रङ्ग रङ्गले मलाई रुवाउँछ
त्यो हरएक पत्रपुष्पले मलाई हिक्का छुटाउँछ,
डलरमा साटेका हर सपना
तिनै कलानितका फिर्फिरे रातोपत्रमा लपेटेर
निलो आकाश हेर्दै टोलाउँदा
आँशु यसरी ओइरिदिन्छ ,,,,
हो प्रियतम!
मलाई कलानितले
तिम्रो निशानी सिम्रिक सम्झाउँछ
यो स्वप्नलोकको रमझमले
हाम्रा एकाँकीपलहरु सम्झाउंछ
उफ्फ्फ! मलाई यि हरएक झिलिमिलिले भक्कानो छुटाउँछ
यो बेफिक्री झुल्ने फूलपातले रुवाउँछ
साँच्चै ,,मलाई सबथोकले रुवाउंछ
हरेक बर्ष आइदिने यो नयाँ दिनले रुवाउंछ कि
म गन्न वाध्य हुन्छु हाम्रो बिछोड
यो हरेक पटकको गिन्तीले
चूरचूर बनाउँछ
मलाई यो सबथोकले रुवाउँछ ।।
ब्लग सम्प्रेषक- दिप्स शाह

अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन

मार्च ३१, इजरायल

मार्च ३१, २०११ मा बसेको विशेष बैठकद्वारा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको इजरायल च्याप्टरमा केहि पदाधिकारीहरूको हेरफेर सहित नयाँ कार्यसमितको पुनर्गठन गरेको छ ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको अध्यक्षमा सम्पन्न उक्त विशेष बैठकमा सर्वसम्मतद्वारा पुराना तथा नयाँ कार्यसमितिका सदस्यहरू चयन गरको छ । उक्त बैठकले अनेसास इजरायल च्याप्टरको अध्यक्षमा कृष्णपक्ष थापा, उपाध्यक्षमा कुमार पौडेल, महासचिवमा हरि मानन्धर, सचिवमा दिप्स शाह, कोषाध्क्षमा सुमन कार्की सर्वसम्मतबाट मनोनित गरेको छ भने बाँकी सदस्यहरूमा भगवती बस्नेत, सुमित्रा पौडेल, भगवती कनेल, समा राउत, हरि अधिकारी, डिल्ली वाग्ले, युग यमन, श्रीराम अधिकारी, लक्ष्मी पोखरेल र बि. जे. बान्तवा राई रहनु भएको छ ।

त्यसैगरि उक्त बैठकले अनेसास इजरायल च्याप्टरको सल्लाहकारहरूमा नेपाली दुतावास इजरायलका कुटनैतिक उपनियोग प्रमुख श्री रमेश प्रसाद खनाल, युएन प्रतिनिधि डा. ध्रुव कोइराला र समाजसेवी श्री कृष्ण ज्ञावली रहनुभएको छ ।
ब्लग सम्प्रेषक- Hari Manandhar

कथा-- निला जीवित फर्की


कथा-- निला जीवित फर्की
दीप्स शाह
deepssanu@gmail.com
इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे निला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी निलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी निलालाई इजरायली हरुको यो अन्ङालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस्प्रकारको स्पर्श भनेको लोग्ने बाटमात्रै अनुभब गर्नेहो। उमेर सङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभब र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको निलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नबिनलाई पनि सुनाएकी थीई। निला भन्दा एक लेभल माथिको शिक्षा आर्जन गरेको नबिनले निर्धक्क भनेको थ्यो," ह्या! निला! तिमी कती ट्रडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!" नबिनलाई नै पच्छ भने आ होस् न त! भनेर उसले आफुले स्याहार्ने इजरायली बुढीआमैका सन्तान कसैसँग पनि त्यो गाला जोर्ने र अन्ङालोमार्ने कुरामा आपत्ति जनाइन। अझै भनुँ बिस्तारै बानी पार्दै गई।
घर छोड्नुको पीडा कम गर्न कहिले ठुलो स्वरमा टिभी खोल्थी त कहिले इजरायली बुढीको नङ काट्दै , कपाल कोर्दै एक्लै मुस्कुराउन खोज्थी। एक एक दिन गन्दै क्यालेन्डर पल्टाउँथी। इजरायली तलबी सिस्टम अनुसार प्र्त्यक अङ्रेजी महिनाको १० तारिखमा तलब पाएको रात झनै सुत्त्दिनथी। हतार हतार बुढीआमैलाई खुवाइपियाइ गरी बिस्तारामा लडाईंदिएर आफ्नो बिस्तारामा थपक्क बस्थी र सय डलरको आठओटा नोट पल्टाइपल्टाइ हेर्थी र फेरी गन्थी अनी फेरी गन्थी। अनी सिरानीबाट नबिन र बच्चाहरुको फोटो निकालेर एक्लै वार्ता गर्न थालथी। "नबिन! आज तलब पाएँ नि। अब शनिबार तेलअभिब गएर ट्रान्स्फर गर्छु। हेर यही पैसाको लागि म यहाँ आएँ। हामी छुट्टीयौँ तर यही पैसा हात परेको दिन म कत्ती खुशी हुन सक्दिन। तिमीसङ्ग अलग्गिएर महिनाभरी यो बुढीको गु सोरेर कमाएको यो ८ पत्ता सयडलरको नोट ले तिम्रो सामिप्यता, तिमीप्रतिको प्यास बुझाउन नसक्दो रहेछ नबिन! म त यही ६ महिनामै कायल भैसकेँ ! आई मिसिङ्ग यु!" भन्दै हातको डलरको बिटो एकातिर पन्छाएर नबिनको फोटो भिजुन्जेल क्वाँ क्वाँ रुन्थी। खल्तिबाट मोबाइल निकालेर मिस कल दिन्थी। फोन पनि कती गर्नु एउटा कलिङ्ग कार्ड किन्यो ५० सेकेल जान्छ ,भनेको लग्भग नेपाली १००० रुपैयाँ । कार्ड किनेपछी सक्सक लागेर चुस्चुस कल गर्दागर्दै एकैदिनमा सकिन्छ। उफ्फ! एकहजार एकैदिनमा फोन गरेर सक्नु! त्यतिले त दुइटै बच्चाको एक महिनाको स्कुल फी तिर्न पुग्छ भन्दै कुँडिन्थी ।
बिस्तारै बानी पर्दै गयो । भनुँ पार्दै गई। भित्र भने हार्दिकताको ह पनि नहुने जस्ता लाग्ने यि इजरायलीहरु बाहिर भने कस्तो लोलोपोतो माया गर्छन्\। देखेर निला वाक्क हुन्थी। साँच्चै भनुँ भने घोर इर्श्या गर्थी। आफ्नोभने उता आफ्नै लोग्नेको हात समेत समातेर कहिल्यै बाटाघाटामा हिँद्न पाएको होइन। एसो कहिले कतै जान पर्यो भने घर बाट सङ्गै निस्केपनी दुइपाइला हिँडेपछी नबिन अगाडिअगाडी लम्किहाल्थ्यो र निला भने पछीपछी हराएको बाख्रो खोज्न निस्केको गोठाल्निजस्तो स्याँस्याँफ्याँफ्याँ गर्दै बुर्कुस्सिन पर्थ्यो । उसोत निलालाई हात समातेरै नभएपनी सङ्गैसङ्गै हिँड्न रहर कती हुन्थ्यो कती। तर समाज नै उस्तो होला र त खोइ लाज शरम केले के ले रोक्थ्यो त्यसो हुन र जहिल्यै सरदर ५ हातको दुरी नघटाइ बाटो नाप्थे। तर यहाँ लाज नभाका पात्तर हरु! चौबाटोमै उभिएर चुप्पाचुप्पी गर्छन्\ लौ! गालीगरे जस्तो गर्दै इर्श्याको आगो ओकल्थी र आफ्नो प्यारो, इमान्दार मायालु नबिनलाई सम्झिँदै आँखा भिजाउँथी। । अली अन्तरमुखी भएरै होला निलाका उस्तो धेरै साथीसङी पनि थिएनन्। उसकै घर पल्लोपट्टी दात्ती बाजे(कट्टर धार्मिक बाजे स्याहार्ने एउटी अधबैंसे रोमानियन आइमाइ सँग उसको मैत्री जम्न पुग्यो। तर निकै समय सम्म एकोहोरो। कस्तो कि रोमानियन आइमाइ 'सुलिना' भने हित्तचित्तको कुरो पनि गर्थिन् निलासँग तर निला भने उही सामान्य दैनिकी हलुका गन्थन गर्थी तर अन्तरंग कुरो खोल्दिनथी।
यस्तैमा आक्कलझुक्कल साथीहरुसँग कुराहुँदा कतिले यतै ब्वाइफ्रेण्ड गर्ल्फ्रेण्ड ब्यबस्था गरेका। कतिका इन्टर्नेट लभ पर्दैगरेको, कतिले आफ्ना लोग्ने श्वासनेलाई यतै झिकाउन लागेका कुरा सुन्दासुन्दा एकदिन बिचार गरी र नबिनलाई फोन लगाइ। अलिकती पैसो जम्मा गरेर अलिअली रिण अरु थपेर नबिनलाई पनि इजरायल झिकाउने, बच्चाहरुलाई मावलामा छोड्दिने, दुबै जोइपोइ मिलेर छिट्टो पैसो कमाउने र नेपाल फर्किएर हाइसोखको जीवन जिउने कल्पना, सपना र योजनाको बेलिबिस्तार निलाको मुखबाट सुनेपछी नबिनले लामो मौनता तोड्दै बिचार गरौँन त भनेको थियो। उसोत बाइक एक्सिडेण्ट मा भाँचिएको गोडा पनि अब त चल्ने भइसकेका थिए। समानता र स्व-हकका जती भाषाण सुने र छाँटेपनी यथार्थ जिन्दगीमा नबिन नेपाली समाजको लोग्ने मान्छे थियो। आफ्नो अशक्तता र श्वासनिको कमाइमा बाँच्नुपरेको पीडाले उसलाई भित्रभित्रै गलाइरहेको थियो। काम सुरु नै गरेपनी निलाको तुलनामा उसको कमाइ निकै कम्ती नै हुने पक्का थियो। मुखले केही ब्यक्त नगरेपनी उसलाई श्वासनी भन्दा आफु तल परेको हिनताबोधले खाइरहेको थियो। त्यसैले रातभरी दलिन गनेपछी भोलिपल्टै निलालाई फोन गरेर आफु तैयार रहेको जानकारी दिलायो। निला खुशी र बिस्मातको भुमरीमा एकैपटक उचालिएर पछारिन पुगेकी थिई नबिनको जवाफ सुनेर। जोइपोइ मिलेर छिट्टै पैसो कमाउन सकिने, इजरायली जोडीझैँ कुमा जोडेर भुमध्य सागरको पानी निल्याल्ने कल्पनागर्दा खुशीको सगरमाथा टेक्थी त बाबु आमाले दुबैले पैसाका लागि छोड्नुपरेको अभागी बच्चासम्झिँदा यसो नगरुँ भन्दै आँखाको कोश पुच्छ्थी। आखिर उसले यो सब छिट्टै नै यो बनबास टुङ्याउनको लागि गर्दै थिई। नबिनको हिनताग्रस्त मनोबिज्ञानसँग त ऊ पूर्णत: बेखबर थिई। आखिर खबर होस् पनि कसरी ! त्यही लोग्ने जो बि यड पास गरेको छ। त्यही लोग्ने हो क्याम्पसे राजनीतिमा नारिहकहितको आवाज गुन्जाउँदै हिँड्थ्यो र कहीँ न कहीं नबिनको त्यही उदारपन्थी सोच र फराकिलो बैचारिक दायरा देखेर नै उसले नबिनसङ्गको बैबाहिक यात्रालाई शहर्ष स्विकारेकी थिई। त्यही माथि अभाबको लडाईं सँग जुध्धै कत्रो विश्वाश गरेर आफुलाई बैदेशिक रोजगारमा जाने चाँजोपाँजो मिलाएको थियो नबिनले नै! यस्तो उदार, यती आधुनिक बिचार राख्ने समसोची लोग्नेले श्वासनिको कमाइ र लोग्नेको कमाइ भनेर साँध्सिमाना लगाउला भन्ने उसले सोचोस् पनि कसरी! नित्तान्त पैसाकै निम्ती दुई लालाबालालाई चटक्कै बाउआमाले नै छोड्न मनले नमानेपनी कुन्निकहाँनिर आभाबले ममतालाई ओभरटेक गरिसकेछ। सल्लाह अनुरुप नबिन निला गएकै म्यानपावरको दैलो चिहाउन पुग्यो । लाग्नेजती पैसा निला ले अनी इजरायलबाट साथीसङ्गीहरुसङ रिन सापट गरेर पठाउने भई। अब मन निचरेर निर्णय नै गरिसकेपछी ढुक्कले नबिनको भिसा लाग्ने दिन गन्न थाली। कम्सेकम लोग्नेको सामिप्यता त पाइनेभयो। एक्लै ४ बर्ष दु:ख गर्नुको साटो दुइजना मिलेर दुई बर्ष मै गर्यो अनी मजाले घर फर्क्यो। उसैपनी यि इजरायलीलाई मुखभरीको जवाफ दिनपनी उसको नबिन आइपुग्नुपर्ने थियो। शारिरिक् सामिप्यता बिना माया प्रेम नै नहोला जस्तो यि नकच्चरा नकच्चरिहरु सोध्छन् बेलाबेलामा,"आत लेबाद? एन्लाख खाबेर?(तिमी एक्लै? ब्वाइफ्रेण्ड छैन?" एख लिस्तदेर लेबाद? बाला बे नेपाल ,,आत लो रोच्च्सा पो एखात खाबेर? कसरी म्यानेज गर्नु? श्रीमान नेपालमा! तिमी यहीँ एउटा ब्वाइफ्रेण्ड चाहँदिनौ?"? )नाता र सम्बन्धमा शारिरिक सामिप्यता बिना इमान्दारिता नै हुँदैन क्यारे यि बिदेशीहरुको त उफ्फ्फ! निला गर्बिलो जवाफ दिन्थी रबाफको साथ," ओद कामा खोदेस बाली याबो पो! आनाख्नु लो ओसिम काखा । मेखाकिम ले बाल! के(ही महिनामै मेरो लोग्ने यहीँ आउंदैछ। हामी यस्तो गर्दैनौँ आफ्नो लोग्नेलाई पर्खिन्छौँ!" )पखेस्न ! नबिन आएपछी यि पातरपातर्नीलाई कसरी देखाउँछु आँखैअगाडी म्वाइ खाएर भन्दै मुर्मुरिन्थी।
दिन बित्न के बेर लाग्छ र! समयको कुदाइमा हामी जोडीनुपर्दैन। उसैले लतार्दै लगिहाल्दोरहेछ। अन्तत: नबिनले पनि पाइला टेक्यो बेनगुरियन बिमानस्थल इजरायलमा एक झल्मलाउंदो रातमा। निर्धारित भन्दा २ घण्टा पहिल्यै एअरपोर्ट पुगेको निला अधिर भई अराइभल गेटको बाहिर उंघिरहेकी थिई। जसै नबिन देखापर्यो। निला स्तम्भित भई। उसका गोडा एकाएक जमेर कक्रक्क परे। खुब इजरायलैलाई मनमनै इख्याउँथी नबिन आएपछी आँखैअगाडी म्वाइ खान्छु भन्दै तर आँखैसामु नबिन उभिएको त्यस स्वर्णिम पलमा उसका हातगोडा कक्रिए। वास्तबमै संस्कार भनेको दुइचार बर्षको बिदेशी हावापानीले कहाँ पखालिनेरहेछ र! हर्षले मोतीका दाना गालाहुँदै छाती भिजाउन पुगे तर उसले सोचेजस्तो झम्टेर म्वाइ खान उसको त्यो गढेको संस्कारले ,सिकाइले,भोगाइले खोइ के ले दिएन। बरु नबिन नै नजिक आयो र बिस्तारै काँधमा हात राख्दै भनेको थियो," निली! मोटाइछौ राम्ररी!" आँखा पुछ्दै निहुरेर पोइका गोडा छोइ। त्यती परिमार्जन भएछ उसको संस्कारमा नत्र त झपक्क निधारले पोइका गोडा छुने गर्थी नेपालमा। त्यसरात जोइपोइ रोएरै रात काटे। भेटेको खुशीमा। त्यसबखत सम्म गुमाएको त्यो सामिप्यताको यादमा, छोडेर आएका साना नानीहरुको सम्झनामा र बाँकी सम्भाबित उज्यालो भबिस्यको कल्पनामा जोइपोइका चार आँखा गोल्भेँडा बनेका थिए बिहान सम्ममा। निलाकी इजरायलको कोही नजिकको साथी भनेकै सुलिना थिई। उसैलाई भेटाइ भोलिपल्टै नबिनलाई लगेर। निलाले स्याहर्ने बुढीआमैका सन्तानले नबिन आएको खुशीमा एक सांझ घरमै बार्बेक्यु पार्टी समेत आयोजना गरे। सबै खुशी थिए। निला खुशीले उछालिएकी थिई।
नबिनको इजरायल आगमनसङ्गै निलाको अनुहारमा गुलाफ फक्रिएको थियो भने ओठमा लालुपाते। निलाको काम देखी करिब दुइघन्टा दुरिमा नबिनले पनि एक अशक्त् इजरायली बाजे स्याहार्ने काम सुरुगर्यो। निलाको कल्पना जस्तै जोइपोइका कमाइ र सामिप्यताले दिन बित्तै गए। कसोकसो छोराछोरीका याद पनि नबिनकै अनुहार नियाल्दै मन बुझाउँथी । सुरुका केही महिना नबिन हरेक हप्ता निलाकोमा आउने गर्थ्यो। रातभरी रोएर हाँसेर बच्चाहरुका सम्झना गरेर खुशी हुन्थे दुइजना। नबिन असल थियो। इमान्दार लाग्थ्यो। हरेक महिनाको तलब निलाकै हातमा गनिदिन्थ्यो। एक्दिन नबिनले अबदेखी हरेक हप्ता नभेटिने कुरा गर्यो। उसका अनुसार कामको केही दुरीमा नबिनले ओभर्टाइम पाएको रहेछ अर्को एक जना बाजे कुर्नुपर्ने रे ,त्यस्बापत ५०$ दिनेरे। निलाले आनाकानी गर्दै थिई। नबिनले सम्झायो। "हेर त्यतिका समय हामी एक्लाएक्लाई थियौँ र त भएकै थियो भने अहिले हामी कम्सेकम महिनामा त भेटिन्छौँ नि! हातमा आउनलगेको लक्ष्मी किन लत्याउनु!" लोग्नेको कुरो मनासिब् लाग्यो निलालाई। त्यसबेला देखी नबिन महिनामा एक्पटक तलब र ३ हप्ताको ओभरटाइमको पैसा समेत सबै एक एक हिसाब गरेर निलाको हातमा राख्न आइपुग्थ्यो। त्यही एकरातको माधुर्यताले महिना गन्दै बस्नथाली निला। निला सोच्थी अब केही बर्ष हो यो कहर जिन्दगी अनी त दु:खका दिन सकिने भए!+++++++
नबिन आएदेखी निला र सुलिनाको भेट्घाट पनि पातलिएको थियो .एक झिस्मिसे बिहान घरपछाडीको माख्सान(स्टोर रुम) मा बाजेको खितुल (डाइपर) को प्याकेट झिक्न जाँदा पर झाङ्गनिरको जैतुनको रुखमा छायाजस्तो झल्यकझुलुक गरेको देखी सुलिनाले। के रहेछ भनी अलिक नजिक जाँदा त्यहा निला थिई। जैतुनको हाँगामा डोरी बाँधेर आफ्नो घाँटि कस्न ठीक परेकी निलालाई देख्नासाथ सुलिना झम्टेर पुगी र निलालाई रोकी। उमेरमा आमाछोरी जस्ता लाग्ने सुलिना र निलाको आँखा जुध्यो। निलाको आँखा चम्किला नभएर राता राता थियो। नाक पनि आँखैजस्ता थिए रातै। 'लेट मि डाइ सुलिना! माइ लाइफ इज ओभर! आइ कान्ट लिभ विद आउट नबिन! हि लेफ्ट मि एन्ड माइ किड्स! हि डिसिभ मि!" निला चिच्याउन थाली। सुलिना हक्कबक्क परी। एक थप्पड गालामा बजाएर अनेक पटक नबिनको बारेमा सोधेपछी बल्ल निलाले बताई। सुरुमा निलाका कुरा सुलिनाले एकरत्ती पत्त्याइन। पत्याओस पनि कसरी! सकेसम्म आन्तरिक कुरा धेर नखोल्ने निलाले जतिपनी कुरागर्थी नबिनको तारिफ मात्रै गर्थी। जब नबिन इजरायल आयो तब सुलिनाले यकिन गरी कि नबिन निलाको तारिफ भन्दा अझै माथिको रहेछ। बरु टोलाएर घण्टौँ आकाश नियाल्ने तर मनको बह हत्तपत्त नपोख्ने निला आज यसरी एकाएक चुपचाप यो परदेशमा जीवन टुङ्ग्याउन लागेको देख्दा सुलिना स्वयँ थामिन नसकेर घुँक्क घुँक्क गर्न थालि। निलालाई कुनै जोर्जुलुम गरिन बस् रुन दिई। भारी मनको आधा भार आँशुमा बगाएपछी बल्ल निलाको मुखबाट शब्द निस्किन थालयो। सुन्दा कुनै चलचित्रको काहानी जस्तो लाग्ने यथार्थ निलाको मुखबाट सुन्दा सुलिनाका मुख ह्वाङ्गै रहे निकैबेर सम्म अचम्म अचम्मले। त्यतिमाथी निलाले भगवान मान्ने नबिन आफु इजरायल आएको केही महिनामै ओभरटाइम पाएको बहानामा निलासङ्ग्ग टाढिएको त खास कारण एकदमै घ्रिणित रहेछ निलाको अनुसार। नबिनको ओभरटाइम कुनै अशक्त बाजे हेर्नु नभएर एउटी इण्डियन केटी रहिछे जो एक अन्धी बहिरी इजरायली बुढी स्याहार्दीरहिछे। निकै धनी बुढी स्याहार्ने इण्डियन केटी हेर्नमा पनि अत्यन्तै राम्री रहिछे बिबाहित भएर पनि निला भन्दा जवान पनि रहिछे। भगवान जानोस् नबिनले उसलाई फसायो या त्यो मेघना नाम गरेकी इण्डियनले नबिनलाई फसाइ तर दुबइ एकअर्कामा फसिसकेका रहेछन्। निलाको विश्वाश कायम राख्न र मेघनाको बैंशालु भोक टार्न नबिन र मेघना दुबै मिलेर नबिनले बिताएको हप्तान्तमा ओभरटाइम मुताबिक को ५०$ मेघनाले दिने र त्यही पैसा नबिनले निलाको हातमा राखिदिने गर्दारहेछन जुन घ्रिणित सत्यसँग निला महिनौँ बेखबर थिई। हिसाब कत्ती तलमाथी नगरि ओभरटाइम समेतको पैसा एक एक हातमा राखिदिने नबिन सुरुसुरुमा त महिनाको एकपटक आउँदा निकै थाकेको हुन्थ्यो। बिचरा कामले गलेको होला भन्दै निला राती अबेर सम्म जैतुनको तेलले नबिनको गोडा मालिस गर्थी तर हरेकपटक जसो महिनान्तमा आउँदा पछीपछी निलाले केही फरक पन आउंदै थिई। बिशेष गरी शारिरिक सम्बन्धमा नबिनको रुची ठ्याम्मै हराएको थियो। कहिलेकाहीँ संका आएपनी बिचरा कामले भुतुक्क थाकेको छ। यस्तो सोच्दापनी मलाई पाप लाग्छ भन्दै बस्थी तर लोग्ने मान्छे न हो। बैदेशिक रोजगारमा भासिएपछी कसैका लोग्नेले ढोका दिएको त कसैका श्वासनीले जहाज डुबाएको। लोग्ने बिदेशमा श्वासनी नेपालमा मस्तिमा धुत।श्वासनी बिदेशमा त लोग्ने अर्कैसँग मस्त हुनेगरेका घटना त प्रसस्तै सुनिन्थ्यो तर लोग्नेश्वासनी दुइटै सँगैहुने अवशर पाएका, चित्त बुझ्दो कमाइ गरिरहेका र कुनै धोखाधडी व्यबहार नदेखिएको यस्तो अवस्थामा आफ्नै लोग्ने त्यसरी गिर्ला या कुनै केटी मान्छे शारिरिक भोक मेटाउनकै लागि कोही विवाहित लोग्नेमान्छेलाई ज्याला तिरेर अपनाउली भन्ने कुरा त निलाले सपनामा समेत सोचेकी थिइन। पहिले पहिले श्रीमान बिदेसिन्थे धेर र लोग्नेको पसिना घरमा बसिबसि परपुरुषमाथी उडाउने स्वास्नीहरुको बयान समाजका सबै भलाद्मीको मुखको मन्त्र थियो। अहिले श्रीमतीहरु पनि कमाउन निस्किन्छन र घरको लोग्नेलाई थाङ्नामा सुताएर ब्वाइफ्रेण्डसङ्ग झुत्तीने श्वासनीहरुको समाचार(चाहे त्यो कुन हद सम्म बधाईँचढाइ गरिएकै किन नओस्) प्रचार गरेर स्वाद लिनेको कमी छैन चाहे ति अनपढ गंवार जमात हुन् या बौद्दिक वर्ग! तर श्रीमतिकै नाकमुनी कसैसँग ज्यालामा सुतेर परिवार तथा समाजकै आँखामा छारोहल्ने नबिनहरुको खबर कस्ले राख्नु! चर्चा कस्ले गर्नु र किन गर्नु?? आखिर नबिन नबिन हो र यो समाजको लोग्ने मान्छे हो । त्यै काम निलाबाट हुँदो हो त यो समाज जिब्रो फड्कारी फड्कारी बडो स्वादले उक्त खबर डकार्थ्यो । +++++++++++
आखिर जिन्दगी न हो कुन मोडमा कस्तो तमासा देख्नु र भोग्नुपर्ने हो भन्ने कस्लाई थाहा! मान्छेको इमान्दारिता न त निधारमा खोपिएको हुन्छ न त व्यबहारमै झल्किनेरहेछ। आखिर बिपत्ती ढोल नबजाइ नै आउँदोरहेछ हठात् हठात्! जतिनै थाकेपनी महिनामा एकरात श्रीमती भेट्दा किन यस्तो उपेक्षा!! केही त पक्कै छ भनेर जासुसी गर्दा निलाले नबिनको त्यो पर्दाभित्रको ओभरटाइम उदाङ्गो पारीछे। पहिले त नबिन र मेघनाले आनकानी गरेछन् तर नखुस्किनु धोती खुस्किसकेपछी अन्तमा नबिन र मेघनाले एकसाथ घोषणा गरेछन् अब उप्रान्त उसले नबिन पाउँदिन। उसको लोग्ने पाउंदिन र पाउँदिन उसका लालाबालाको पिता!! त्यसबिहान निला यती रोइकी सुलिनाले उसका आँशु टिपेर राखेकी भए त्यसका सामु लालसागर सानो हुँदोहो। आफ्नी छोरी समानकी एउटी सफा मनकी केटी त्यसरी निरिह बनेर आफ्नै छातीमा टाउको जोतेर रोइरहंदा रोमानियामा जन्मेकी सुलिनाको मन कसैगरी थामिएन। दुबै अङ्गालो मारेर निकैबेर रोइरहे। लामो सुंकसुंक पछी निलाले आफुलाई केही हलुको पाइ। सँगइ मर्ने जिउने कसम खाएर जिन्दगी अगाडि बढाएको लोग्ने जसलाई ऊ भगवान मान्थी।जसले उसका गर्भमा बिज रोपेर दुई सन्तान जन्माउने सौभाग्य दिएको थियो त्यस्तो मान्छेको धोकामा आज कोही नित्तान्त पराइ कहाँकहाँ एउटी परदेशी जो सँग हिजो भेट भएको हो र शायद फेरी कहिल्यै नहोलापनी। उसैका छातीमा आडलगेर त्यसरी रुंदा आफुलाई निकै बिचरी निकै एक्ली पाइ।
टाउको उठाएर भनी," सुलिना! म अब बाँच्न सक्दिन! नबिन बिनाको जीवन म कुनै धनसम्पतीमा जोख्न सक्दिन। बाबुबाट त्यागिएका बच्चाहरुको उदास अनुहार म कसैगरी नियाल्न सक्दिन। म बाट ठुलो भूल भयो कि मैले नबिनलाई इजरायल ल्याएँ। म अब बाँच्दिन। मैले बच्चाहरुबाट उनका बाबु छिनेँ।," सुलिनाले मायाले मुसार्नुको साटो यसपाली एक गतिलो थप्पड निलाको गालामा बजाइ। निला उसैपनी केही सोच्न नसक्ने अवस्थामा थिई। यसबखत ति रोमानियन महिला एक भगवान बराबर भएर उभीईन निलाको अगाडि। सुलिनाले निकैबेर सम्झाइन् अझै भनुँ निलाका आँखा खोलिदीईन्। जिन्दगीको सत्य उद्घाटन गरिदीईन्। सही मानेमा बाँच्न सिकाइन्। जुन सत्य आज सम्म निलाले महसुस समेत गरेकी थिईन त्यो सत्य आज ति रोमानियनले आँखा अगाडि राखीदीईन्। निकै लामो सम्भाषपछी अन्तमा सुलिनाले भनिन्," हेर निला! जिन्दगीको अर्थ मर्नु होइन। मर्नु त सिद्दिनु हो, समाप्त हुनु हो। तिमी आज जीवनमा छौ। जो तिम्रा इच्छा र हातले चलाऊने र पाउने कुरो होइन। त्यसलाई भगवानको कृपा मानेर सदुपयोग गर। कोही आफ्नो जिम्मेवारी बाट भाग्यो भनेर तिमी पनि भाग्ने? कोही स्वार्थी भयो भनेर तिमी पनि हुने? कम्सेकम ति साना नानीहरुलाई सम्झ। यती राम्रो घरबार, परिवार छोडेर त्यस्तो स्वार्थी हुन सक्ने नबिनले तिम्रो समाप्तिपछी ति बच्चालाई हेर्छ? नहेरेको अवस्थामा तिनका हालत के होला, तिमी अनुमान गर्न सक्छौ? सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महान शब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ! नबिन गयो तिम्रो जिन्दगीबाट तर अरु सबै बाँकी छ। तिमी बाँकिछौ।" --------अरु के के भन्दै थिई सुलिना तर निलाको कानमा "...सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!" मात्रै गुन्जिरह्यो। झम्टेर सुलिनालाई अङालो मारी र निकै बेर गाला जोरेर अडिएपछी भनी," सुलिना! आज म प्रण गर्छु कि म अब गलत गर्नेछैन। म आफुमाथिको सबै जिम्मेवारी निभाउने प्रयास गरिरहनेछु। र सत्य सत्य! नबिनलाई बिर्सिनेछैन। म उसको प्रेम हुन सकिन । ऊ मेरो जिन्दगी हुनसकेन तर सत्य यही हो कि मेरा बच्चाको बाबु उही हो। मैले माया गरेको मान्छे उही हो। म भन्न सक्दिन कि जीवनको कुनै मोडमा नबिन फर्केर म कहाँ आउला । हो म अत्यन्तै क्रुद्द छु नबिनको यो निर्णयप्रती तर उसलाई घ्रिणा गर्न सक्दिन सुलिना! गाह्रोगारो छ म मेरो नबिनलाई म कोहिअरुसँग रमाएको हेरुँ तर कम्सेकम नबिन खुशी छ कतै। तिमी सही छौ! जिन्दगी यतिमै सकिएको छैन न त मेरो जिम्मेवारी टुङ्गिएको छ। तिम्रो यो गुण म् कहिल्यै भुल्नेछैन सुलिना! तिमी मेरी आमा हौ आमा! जसले जीवन दिन्छ । तिमीले आज मलाई मात्र बचाएकी छैनौ कि मेरा दुई साना नानीहरुलाई आमा दिएकी छौ। उनिहरुलाई भबिस्य दिएकी छौ र सहारा दिएकी छौ। धन्यवाद सुनिला! यतिबेला म सँग धेरथोर पैसा छ। गतिलो काम छ र शायद असरल्ल जिन्दगी छ तर मेरा बच्चा छैनन् साथमा। नबिन हुँदा सम्म म एक्लै छु भन्ने आभास थिएन शायद त्यही स्वार्थमा मैले बच्चाहरुलाई भुलेछु। या त कम्ती याद गरेछु। अब एक्लै भएं तिनका याद बेस्सरी आयो। म अर्को हप्ता नै नेपाल फर्किन्छु । तिम्रो यो गुन म तिमीलाई सँधै याद गरेर तिर्नेछु सुनिला!" यती भनेर निला साहसी अनुहार लिएर फर्की । सुलिना निला गएको हेरिरही।+++++++++++++++++
अगी निलाले बांधेको र झण्डैझण्डै निलाको जीवन समाप्त गर्न तम्सेको डोरी जैतुनको हाँगामा हल्लिरहेको थियो चिसो बतासको झोँकासङ्गै। सुलिना मुस्कुराइ; अन्तत: निला जिउँदै फर्की-……निला बाकसमा होइन जिउँदो सरिरमा नेपाल जाँदैछे। सुलिनाले डोरी एक झट्कामा तानी र पर हुत्त्याइदीई। पूर्व क्षितिजमा सुनौलो घाम मुस्कुराउने तर्खरमा थियो जसले निस्पट्ट अंधेरो रात छिचोलेरैपनी उज्यालोको अर्को अध्याय सुरुवात गरिसकेको थियो।
ब्लग सम्प्रेषक- दिप्स शाह

'यात्रास्पर्श' पाठकीय अनुभूती ।


'यात्रास्पर्श' पाठकीय अनुभूती ।
दीप्स शाह,इजरायल
deepssanu@gmail.com
परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर। उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो साहित्यफाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरुका भोगाइ अनी पाइलाहरुका डोब,"यात्रास्पर्श" नियात्रा सँगालो उनै द्वारा सम्पादित। उसो त सिरानीमा बन्दुक घुसारेरै, काँधमा राइफल भिरेरै पनि शाब्दिक बम्बारी गर्ने यि साधकका अन्य कृतिहरु बजारमा छाइसकेको छ। तर पछील्लो समयमा उनको अथक् प्रयासबाट बाहिर आएको यात्रास्पर्शले केदार सङ्केतको साहित्यिक उचाइ ह्वात्तै माथि पुर्याएकोछ जहाँ घरदेश र परदेशका अनेक सर्जकलाई एउटै पुस्तकमा उभ्याएर साहित्योत्थानमा एक अहम काम उनिबाट सम्पन्न भएकोछ।
नेपाली निबन्धफाँटमा एक अलग र उच्चस्थान ओगटिसक्नुभएका बरिष्ठ साहित्यकार युवराज नयाँघरे ज्युले भूमिका लेख्नुभएको यस् कृतिमा केदार सङकेतले अनेक मेहनत र खोज गरेकाछन् । नेपाली साहित्यलाई असल मानेमा माया गर्ने मनहरुको लहरमा अनेक केदारहरु जन्मिनुपर्छ ,यो पुस्तक पढिरहँदा यसै भनेर उदघोष गर्न मन्लाग्छ। जो साहित्यको उत्थानमा कोसेढुंगा बन्ने जमर्को गरेकाछन् र एक जिउँदोजाग्दो उदाहरण बनेका छन्। जसको हृदय काबुलको बालुवामा पनि नेपालको माटो खोजिरहन्छ। बेलायतको चिल्लो सडकमापनी आफ्नै गाउँको भिरखोरिया सम्झिरहन्छ। केदार सङ्केत यस् पुस्तकका आडमा यती स्तूत्य बनेका छन् कि पाठकले जोसिलो उदघोष गर्छ कि म पनि यस्तै केही गरुँ। युवराज नयाघरे ज्युको नियात्रे आँखाले मिहिन शल्यकृया गरिएको यस् संग्रहलाई साहित्य संगालो डट कम-बेलायतले प्रकाशन गरेको हो भने आवरण र आक्रिती विन्यासमा क्रमश:रमेश पौडेल र रमेश दाहाल रहेकाछन्।सत्र वटा पठनिय नियात्रा समेटिएको यो पुस्तक लुष प्रेसमा मुद्रण गरिएको हो भने यसको मुल्य नेपाल लगायत दक्षिण एसियामा रु १५० तथा अन्यतिर अमेरिकि डलर $५ रहेकोछ।
मुलत: यात्रास्पर्श नियात्रासँगालो नै हो। नेपाली साहित्यमा यात्रावर्णनलाई निकै पछी आएर मात्र महत्व दिनथालेको जस्तो देखिन्छ। उतिबेला घुम्नेले लेखेनन्। नघुम्नेले देखेनन्। थोरैले लेखे र कम्सेकम सुरुवात भने भएको थियो। तर आज समय त्यस्तो रहेन। प्रबिधी, यातायातको सुगमता, मान्छेजगतमा आकाशिँदो आकांक्षा र जिज्ञासा, अभाब र बाध्यता जस्ता अनेक अवस्थाको उपज मान्छे घुम्न डुल्न र अनेक तिर छरिन पुग्छन्। यसरी बिबिध कारणले छरिनेहरुको अनुभुतीको तिब्रता र अनुष्मरणका तरेलीहरु, भोगाइका फेहरिस्त र हृदयमा खोपिनपुगेका अनेक बिम्बहरुले आज धमाधम यात्रावर्णनको रुप धारण गरिरहेकोछ। यस्तो लाग्छ अबको केही समय नेपाली साहित्यमा यात्रास्पर्शमय हुनेछ। र निक्कै उर्बर साबित हुनेछ।
यात्रास्पर्श यस्तै एक महत्वपूर्ण कृति हो। घरदेश र परदेशका गरी १७ नियात्राकार हरुलाई समेट्दा यात्रास्पर्शले १८६ पेजमा आफुलाई फैलाएकोछ।नियात्राकार जगत नबोदित, शर्मिला खड्का दाहाल र ज्ञानेन्द्र बिवश ज्युले नेपालको सेरोफेरोमा पाठकलाई अनेक अनुभुतीका घुम्तीमा डोर्याउनुहुन्छ भने हेमन्त परदेशी जी आफ्ना बिगत केलाउँदै अनुभुतीक डोब सुम्सुम्याउनुहुन्छ। नियात्रा लेखनमा भर्खर होमिएका सर्जकहरु हरी मानन्धर, दीप्स शाह र उमा सुबेदीले मध्यपूर्बी सुन्दर मुलुक इजरायलको अदभुत ओडारमा पसाउँदै कलात्मक बगैँचा डुलाएर भूमध्यसागरको छालमा उचाल्दै पछार्दै गर्नुहुन्छ। जया राइ जी जहाजे यात्राका अनेक तरेलीमा सबैलाई लट्ठ्याउनुहुन्छ भने इल्या भट्टराई जी ग्रिनविचको शुन्य समयसँग साक्षात्कार गराउनुहुन्छ। त्यसैगरि कृष्ण बजगाइँ जी ले चिनिया कबिका घरमा माछा मारेर सबैलाई मनोरञ्जन मात्र दिनुहुन्न कबी लेखक राष्ट्रका गहना हुन् भने तिनलाई दिने सम्मान कस्तो हुनुपर्छ भनेर घतिलो उदाहरण दिनुहुन्छ। भिष्म उप्रेती ज्यु बुर्का भित्रका अनुहार र तिनका हृदयमा अंकुरित अनन्त भाब, स्वपहिचानप्रतिको सजगता आदिआदी सहित भिन्न भुगोल र रस्तिबस्तीमा पाठकलाई डुलाउनुहुन्छ। यसैगरी सानु शर्मा, श्रीओम रोदन, युवराज नयाघरे, विश्वाशदिप तिगेला ज्युले पनि बेलायत, सिड्नी, अमेरिकाका अलगलग जीवनपद्दती, रहन सहन सङ्गै डुलाइका अनेक मनमोहक अनुभुतीहरु नियात्राको रुपमा पेश गर्नुहुन्छ र ति सप्पैको एक सोलोडोलो सँगालो हो यात्रास्पर्श।
यात्रास्पर्श अनेक हिसाबले अलग छ र बिशेष छ। भिन्न भुगोलका अनेक पक्ष एकै पुस्तकमा अलंक्रित हुनुले यसको गरिमा बढाएको छ भन्न सकिन्छ। घुम्नेको सादा अनुभुती एकोहोरो मनोलाप हुनसक्ला तर यात्रास्पर्श हुन सक्दैन। अनुभुतीका अनेक दृष्य र बिम्ब, भोगाइका अनन्त फेहरिस्तलाई सरल तरल र कलात्मक व्याख्या गरिनुपर्छ र त्यही सर्त यसमा अंकित सबै नियात्राले आफुमा लागुगरेको छ। घुम्दैगर्दा, कामको शिल्शिलामा कतै बत्तिंदैगर्दा, बिरक्ती पल काट्न कतै सुस्ताउँदै गर्दा परदेश भासिएकाले नेपाल सम्झन्छन्। तुलना गर्छन् र दुख्छन् भक्कानिन्छन् तिनै अनुभुतिका तिब्रता यात्रास्पर्शले पर्गेलेको छ। आफ्नो माटोमा निर्धक्क पाइला डोर्याउँदा, जीवनबंचाइका क्रममा समय संगै उम्किएर एक मिठो स्मृति बनेर रहेका घुमाइसङका घटनाहरु केलाएर सर्लक्क ति अनुभब अनुभुतीको बिस्कुन लगाइएकोछ यही एउटा पुस्तकमा। उसोर यात्रासाहित्यमा उम्दा सिर्जना दिइसक्नुभएका देखी शिशु सर्जकहरुको एकैथलोमा अदभूत जमघट पनि गराएकोछ यात्रास्पर्शले। यस हिसाबले पनि यात्रासाहित्यमा रुची र चिन्ता गर्नुहुने सबै अग्रज,सर्जक तथा पाठकहरुले एकपटक 'यात्रास्पर्श' छिचोल्नैपर्छ जहाँ नेपाली डाडाकाँडाको तरेली छ। इजरायलको अनेक दृष्यवर्णन र रस्तिबस्तिको जानकारीछ। अस्ट्रेलियाको बिकशित् सभ्यता छ। बेलायतको सम्पन्नता छ र अमेरिकाको भब्यता छ। अनी छ इटलिको पेरोनी दुबइको लर्बर पनि!
यात्रा साहित्यलाई मायागर्ने र माथि उठाउन चाहनुहुने सबै पाठकले यो पुस्तक एकपटक पढेर यसमा रहेबसेका त्रुटी र कमजोरी पहिल्याइ हौसला सुझाब र शुभकामना दिएर नियात्रालेख्ने हरुलाई र नियात्रामा आफुलाई हरदम समाहित गर्न रुचाउने साधक केदार सङ्केत जी लाई बधाई तथा शुभकामना दिन पनि सम्पूर्ण पाठकहरु समक्ष मेरो हार्दिक निबेदन रह्यो।
जीवन यात्रा हो अनी यात्रा जीवन। यि दुइबिचका बुझाई र अभिब्यक्तीले पाउने मानक स्थान र आँकडाका रुचिपूर्ण नालिबेलीमा आफुलाई सामेल गराउन हरएक पाठकले एकपटक "यात्रास्पर्श" पढ्नै पर्ने मेरो जिकिर र ठहर छ। ।
ब्लग सम्प्रेषक- दिप्स शाह

किनाराको मन (कथा)


किनाराको मन  (कथा)

अभावका  ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै  एकुरियमका माछहरु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु ।
आज पनि बिहानको खान खाएर कोठामा पसेकी छु कपबोर्डमा   भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएकी छैन यी मेरा एकान्तका सारथीहरु ।
मेरो ल्याटपले मलाई कर्के नजरले हेरिरहे झैँ लाग्यो ।  उसलाई मायाले सुम्सुमाएँ, छातीमा बेस्मारी टाँसे उसो त मेरो प्रिय मान्छेको उपहार हो यो ।
यसैमा मैले मेरा सबै दु:ख सुख अनि गुनसा, जिज्ञासाहारु पोख्ने गरेको हुन्छु । यसैले मेरो बेचैनीलाई, एक्लोपनलाई दूर गर्ने काम गरेको हुन्छ । यस्लाई खोलेँ, मुसुँक्क मस्करायो उस्लाई हेरेर म पनि मनै देखि मुस्कुराएँ। हिजो तराइको बगरमा भैंसी चराउँदै  भैसीको आङमाथि बसेर गीत गाउदै हिंड्ने म आज सात समुन्द्रपारी एउटा कोठामा बसेर संसारलाई नियाली रहेछु । अब नयाँपुस्ताले समयानुसार हिंड्न सक्यौ भने  नयाँयुग भेट्न कति नै समय लाग्ने रहेनछ। धुलैधुलो र माटै माटोमा रमाउँदै,धूलोमा नै औलाले कखरा सिकेको मान्छे आज तिनै औंलाहरू किबोर्मा नचाइरहेको छु। त्यो धुलो माटोको जीवनदेखि शुरू भएको यो दुरुहयात्राले  आजको यो भब्य र सभ्य शहरको रङ्रगीन दुनियाँमा बाँच्न र नाँच्न सिकाएको छ । गतिशील समय, प्रगतिशील समाज, विचारशील दुनियाँसँग हातमा हात र साथमा साथ मिलाएर बामे सर्न खोजेको मेरो चुनौतिपूर्ण जीन्दगीका पाइलाहरू कष्टकर छन् तर मैले यसलाइ सहजै लिएकी छु।

  वास्तबमा यो भर्चुअल दुनियाँ पनि  कति विचित्रको छ , त्यसमाथि चमत्कारी अनि  सम्पन्न मानव वस्तीहरु !!

आफ्नो दैनिक कार्य ब्यस्तताबाट बचेँको समयमा मलाई मनोरन्जन दिने म भुल्ने भनेको यही ल्याटपमा हो । वाइफाइ कनेक्सन गर्‍यो बिभिन्न वेब  साइटमा समाचार पढ्यो । मुहारपुस्तिकामा विश्वभरिका मानिसहरुको धर्म संस्कृति र बिचारहरु पढ्यो । कैले मायालुका यादभित्र  गुडुल्किदैँ त कैले मेलोडियस संगीत गुञ्जाउँदै आफ्नो दिनचर्या गुजारी रहेकी छु ! धेरै समयपछि  फेरि यसै दुनियाँ मार्फत मेरो बाल्यकालको साथीसँग भेट भएको छ ।  उमेर परिपक्क  भएपछिको भेट, बिपरित लिङ्गी प्रतिको आकर्षणले  पनि होला  उसका भावना बिचारले आजकाल उसैतिर आकर्षित हुदैँछु । उसैको   भावना अनि बिचारको आडमा आफू निर्धक्क फक्रिरहेको अनुभव गरिरहेकी छु । समय र परिस्थितीको कठघरामा उभिएर आफ्नो भबिष्यको गन्तब्य पहिल्याउन आफ्नो मातृभूमिबाट टाढा भिन्न भूगोल अनि परिवेशमा परिश्रम गर्न वाध्य छौँ हामीहरू।

सधैंको निरासापन, प्रवाशको उच्छ्वाशका नरमाइला क्षणहरू, आफन्तको सम्झनाले भिजाएका परेली, मनमा लागेका घाउहरुलाई भित्री मनको कठ्घरामामा छुपाएर अथाह वेदनाको खजानाले पुर्दै, कुण्ठित रहर अनि चाहनालाई दबाएर बनावटी  मुस्कान छर्दै जिउनै पर्ने बिबशतामा उसको साथले केहि राहत मिलेको छ।

आजभोलि लाग्छ उ नै हो मलाई बुझ्ने यो संसारमा । जब जब म उनका आँखामा आफूलाई हेर्छु, एकदम गहिरो आत्मियता पाउँछु । लाग्छ ती आँखामा सधैँ हराइरहुँ । सागरभित्रको मोति झै डुबेर । यी आँखामा चमचमाउँदा चमक, उत्साह उमङ्ग सबै  उसको नै देन हो । मेरो आशा, भरोसाहरूमा अझ बढी विश्वास थपिएको छ ।  आश भरिरहने यी नयनमा अझ धेरै विश्वास अनि नयाँ नयाँ रहरका रेशाहरू सल्बलाएका छन् ।  धेरै बर्षपछिको अन्तरालमा केहि महिना मात्र भएको छ भेट भएको तर उसले अथाह प्रेम बर्षाएर होला उसका आवाजहरू शुन्यतामा पनि  मीठो धून  बनेर मनमस्तिष्कमा गुन्जिरहन्छन् ।"

थाहा छैन उसका हरेक बोलाई हेराई वा विचार के कुराले मलाई उसै प्रति आकर्षित  गरिरहेछ !   उस्को बोलाई  हेराइ बिचार  सबैको भन्दा भिन्न लाग्छ ।  बाल्यकालमा रोपिएको हाम्रो प्रेमको मुना फेरि पलाउन  झाँगिन थालेका छ, उसको मायाले यसमा मलजल गरिरहेको छ।  धन्य छ यो प्रबिधी जस्ले मेरो प्रथम प्रेमसँग, साइबर स्पेशमै किन नहोस, साक्षात्कार गराइदिएको छ । नोस्टाल्जियामा होला मेरो चुलबुले पना फिरेको छ । लाग्दैछ उ नै मेरो आत्माले खोजेको सच्चा प्रेमी  हो । प्रेममा आत्माले आत्मालाई चिन्नु पर्छ मनले मनको  पवित्र एवंम निश्चल भावनालाई  महसुस गर्न सक्नुपर्छ । वास्तवमा प्रेम बिचार  अनि भावनाको समागम हो ! प्रेम स्वच्छन्द अनि स्वेच्छाले अन्त:स्करणबाट स्वत:स्फूर्त प्रकट हुने  स्वच्छ भावनाको  मीठो अनुभूति हो । यो  प्राकृत, ब्याप्त र गतिशील हुन्छ । संसारका सम्पूर्ण जिवात्माहरुलाई एकापसमा बाँध्ने  कडी  प्रेम नै हो । जुन हामी दुईको आत्ममा अजम्बरी भएर रहेको छ।
मलाई लाग्छ जीवनमा महत्व पनि उसैलाई दिनुपर्छ जसले आफ्नो भावनालाई सम्मान र महसुस गर्छ । आजकल उसका हरेक बोलाई अनि बिचारहरुमा जीवनका दर्शन पाउछु ! मेरा हरेक शब्द अनि व्यबहारमा उसको सम्मान पाउँछु ! जहाँ माया हुन्छ त्यहा सबैकुरा हुने रहेछ । एक  व्यक्ति सबै मानिसको लागि बनेको हुदैंन । म सोच्दै छु । उ मेरो लागि बनेका हो उसको  निकटता र आफ्नोपनले मैले यही महसुस गराएको छ। सिमसिम पानी परेको छ । जाडोले गर्द लुगलुग काम्दैँ झ्यालबाट बाहिर चियाउन मन लाग्छ पानीसँगै फुसफुस हिँउ पनि खसिरहेको छ । नजिकै देखिने सानो पोखरी हिउँ भरिएर एकैछिनमा पुरिन्छ नजिकै हिमानी झार लत्रिएर पनि सौन्दर्य दिइरहेको छ । त्यही  झारलाइ हेर्दै परिस्थिती जस्तो आए पनि उसले मेरो साथ दिन्छ भन्ने कुरामा म ढुक्क छु।


दिन बित्दै गयो हामी जति टाढा भए पनि हाम्रो माया उतिनै गाढा हुँदैँ गयो !! नेपालमा बिदामा जाने र भेटघाट गर्ने योजना बनायौँ।
जहाज  अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा  ओर्लियो । जब मेरा पाउहरूले जन्मभूमिको माटोको स्पर्श गरे मेरो मन खुशीले झुम्न थाल्यो । जहाजबाट ओर्लँदा एक किसिमको रमाइलो अनुभूति भयो । आफ्नो माटोमा टेक्न पाउँदाको अपूर्व  खुशी र मुस्कानको उमङ्ग अहा !
जहाजबाट ओर्लिएर विमानस्थलको सामान लिने ठाउँमा गए । हतार हतार समान लिएर बाहिरिएँ।  लामो समय पछि मातृभूमिको   चिरपरिचित  तर नूतन सुगन्धले त्यसै त्यसै मख्ख परेर मातेको , मदहोसी आभास भइरहेको थियो । अझ आफन्त र उसको मिलनको उमङ्ले म  भित्र भित्र बतासिएकी थिएँ ! उसलाई हेर्न आँखाहरु लालायित थिए । आँखा चारैतिर दौडाएँ  तर  उ कतै देखा परेन । आमा र भाई बाहिर मेरै प्रतिक्षामा बसिरहेका थिए । धेरै समय पछि छोरीलाई देखेर आमाले खुशीले हर्षाआँशु बगाउँदै  अंगालेर धेरैबेर चुम्बन गरिरहनु भयो । हामीले लामो अन्तरालमा   एकआपसमा आफ्नो माया साटिरह्यौं । धेरै बेर उसको प्रतिक्षामा बस्यौं लामो समय सम्मको प्रतीक्षा निरर्थक भएपछि   अन्तत:  ट्याक्सी लिएर आफ्नो बासस्थानतिर  हुइकिँयौ । बाटोभरि  उ  किन आएन भनेर मनमा कुरा खेलिरह्यो  पछि  मात्र थाहा भयो ऊ कुनै महत्वपूर्ण काममा फसेको रहेछ ।  भोलि भेटेर घुम्न जाने भन्दै फोन आयो !
 उसले “भोली  बिहान् १० बजे चोभारको गेटमा भेटौँ ,अनि दक्षिणकाली घुम्न जाउँला” भन्यो ।

कहिले बिहान होला भनेर बसिरहेँ, सानैमा देखेको कस्तो भयो होला भन्ने मनमा उत्सुकता जागेको थियो रातभरी खुल्ला झ्यालबाट झिलिमिली ताराहरु नियाल्दै उसैसँग भबिष्यको  योजना बनाउँदै, उसैको कल्पनामा कोल्टे  फेर्दा फेर्दै  रात बित्यो !
बिहान  सबेरै उठेँ उसलाई भेट्न आतुर मनहरू छटपटिदै थियो उसले भने अनुसारको ठाउँमा भेट भयौँ ।
उसलाई देख्नासाथ  आँखाले आँखा संगभलाकुसारी गर्न लागे ओठले मधुर मुस्कान फाल्दै थिए । वरिपरी लहरै सल्ला र धूपीका बोटहरु अनि अग्लो होचा पहाडहरु  हामीलाइ टुलुटुलु हेर्दै थिए । सिरिसिरी बतासले मौसम अझ मदहोस पारिरहेको थियो। दक्षिण कालीको मन्दिरमा गएर पूजा गर्यौ अनि  नजिकैको पार्कतिर लाग्यौ ऊ सँगको प्रत्यक्ष भेटमा म ज्यादै प्रसन्न थिएँ उ पनि निक्कै खुशी देखिन्थ्यो । हामी  पार्कमा बसेर त्यहाँका हरियाली रंगीबिरङ्गी फूलबारीको मनमोहक दृष्यावलोकनमा आफैँलाइ घण्टौ हराइरह्यौं। दिनभरि भलाकुसारी गर्दै प्रकृतिको मनोरम दृष्यहरू क्यामरामा कैद गर्न पनि भ्यायौं । अनि  हाम्रा सुन्दर भविष्यका  सुनौला  र अनुपम सपनाहरु कोरल्यौं । फेरि भेट्ने बाचामा छुटियौँ ।
अर्को चोटी हामीले  घर नजिकैको पार्कमा भेट्ने योजना बनायौ !
आज उ  भावुक , कौतुहल र उत्सुक देखिन्थ्यो । केहि समय मौन बसेर
उसले भन्यो:  
“आज मेरो जिन्दगीको महत्वपूर्ण निर्णय तिमीलाई  सुनाउनु छ तिमीले त्यस्मा मलाई सहयोग गर्नु पर्छ !”
मैले उत्सुक हुदै सोधे: के हो त्यस्तो निर्णय ? मैले सके र जानेसम्म अवश्य सहयोग गर्छु ।
“मेरो परिवारले मेरो विवाहको सोच राख्नु भएको रहेछ !” उसले भन्यो ।
राम्रै हो नि ! समय भयो जुनसुकै बाबाको  सपना हुन्छ छोराको बिहे गर्नु बुहारी  भित्र्याउनु ! अनि तिमीले के उत्तर दियौ त ? म प्रति प्रश्न गर्छु ।
उ अधीर हुदैँ भन्छ:" म त तिमीलाई नै विवाह गर्न चाहन्छु" तिमीले मलाई साथ दियौ भने मेरो चाहना पूरा हुनुको साथै हाम्रो प्रेम पनि अमर हुनेछ अनि मेरो मेरा बाबा आमाको सपना पनि !!"

यसरी अचानक उसको विवाहको प्रस्तावले   सृजना गरेको हर्ष र खुशीले  मेरा परेली कतिबेला रसाइसकेछन् । मेरो ठूलो सौभाग्य हो तिम्रो अर्धाङ्गिनी हुन पाउनु, जसलाइ मैले माया गरेको छु उसैलाई जिन्दगीभर मेरो बनाउन पाउनु ! तर म कति अभागी छु ! तिम्रो यत्रो विश्वाश अनि मायाले गरेको प्रस्तावलाई अहिले सहर्ष स्वीकार गर्न असमर्थ छु  ! म अहिले विवाह गर्न सक्दिन । मेरा आफ्नै बाध्यता अनि बिवशताहरू छन् जो तिमीले पनि बुझेका छौ ।
तिमीलाई अवगत नै छ मेरो बाबाको स्वर्गारोहण पश्चात मैले मेरो घरको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको छु । मेरी बूढी आमा र नाबालक भाइ बहिनीको रेखदेख गर्नै पर्छ । उनीहरूलाई  ब्यवस्थित गर्ने जिम्मा मेरो काँधमा छ ।
मेरा भाई बहिनीहरुको जिन्दगी अनि भविश्य मेरै हातमा छ मैले मेरो मायाको स्वार्थमा  उनीहरुको भविष्य   लथालिङ्ग  पार्नु हुँदैन । यस्तो धृष्टता म कसरी गर्न सक्छु ? तिमी नै भन न  ?
मलाई तिमी प्रति पूर्ण विश्वाश अनि भरोशा छ ।  तिमीले मलाई अनि  मेरो बाध्यता  र मजबुरीलाई बुझ्ने छौ ।

"प्रेममा नै परेर मान्छेले ताज महल खडा गरिदिन्छन् । प्रेमले मानिसको सोच र लक्ष्य बदलिदिन्छ। मेरो सोच र लक्ष्य पनि तिमीले बदली दिएकी छौ । भित्री आँखाले देख्ने जति सुन्दरता अनि भोग्ने जति निश्चलता, पवित्रता बाहिरी आँखाले कहिले पनि अनुभव अनि अनुभूति गर्न सकिदैँन अरुले दिएको बस्तुले प्रदान हुने सबै खुशीहरु क्षणिक हुन् ।आफ्नो मनले स्वेच्छाले, स्वविवेकले गरिने प्रत्येक कामले मात्र मानिसलाई सुख र आनन्द प्रदान गर्न सक्छ । "म तिम्रो स्वकीय फैसलामा सहमत छु । म तिम्रो अवस्थासँग  पनि परिचित छु । मैले तिम्रो भावना नबुझिदिए अरू कस्ले पो बुझ्छ र ? तिम्रो भावना अनि निर्णयको सम्मान पनि गर्छु !"

उसको साकारात्मक  निर्णयले म बेहद खुशी भएँ, । उसले मेरो भावना र अवस्थालाई सहजै बुझिदियो । आफ्नो प्रेम प्रति आँफैलाई गर्व लाग्यो।'

  गोधूलीसाँझमा पर पर क्षितिजमा बादलका रङ्गीन धब्बाहरु  चलायमान  भइरहेका छन् । चराचुरुङीहरु आकाशमा स्वतन्त्र उडिरहेका छन् । आफ्नो गन्तब्यमा पुगेर आ–आफ्नो बासस्थान फर्किरहेका छन् । बर्षासँगै सडक वरिपरिका गुलाफहरू ढकम्क्क फुलेका छन् । वातावरण एकदमै रोमाञ्चक देखिन्छ, तर मेरो अनुहारमा असन्तुष्टीका आभाहरु छचल्किएका छन् । उसको बिछोडमा....
बिछोडको बेदना, पीडा कति नमिठो हुँदोरहेछ नचाहेर पनि भोगिरहनुपर्ने । जुनीजुनीसँगै बाँच्ने बाचा- कसम हुँदा हुँदै पनि मिलनका कसमहरु पूरा गर्न नसक्दा  यो बिछोडको पलमा तड्पिरहनुको बिकल्प भेट्न निक्कै  कठीन हुनेरहेछ । जब समय र परिस्थितिले अनौठो बिवशता, अप्ठेराहरु अगाडि तेर्साउँछ अनि चुपचाप सहेर धैर्य गर्दै हिडन सक्नुपर्ने रहेछ । सधैँ सँगै बस्ने  वाचा हुँदा पनि  बाध्यताबस हाम्रो साथ छुट्यो  कुनै पनि कुराको सुनियोजित आरम्भ र अन्त्य नहुने रहेछ । हाम्रो मिलन बिछोडको कथा पनि यस्तै भइदियो ।

 फेरि उहि आफ्नै  पुरानो काममा फर्किए उही निरासा उही सुन्यता एक्लोपनमा तर उसको  निस्सिम मायाले  जिन्दगीमा नयाँपनको आभास , हौसला र प्रेरणाले  म जगमगाइरहेको अनुभूति गर्दै थिएँ ।  दिनहुँ डिजिटल्ली हाम्रो भेटघाट भईरहन्थ्यो र भावनाहरुको सटासाट भईरहन्थ्यो । लगभग ६ महिनासम्म निरन्तर यहि प्रकृया चलिरह्यो । तर अनपेक्षाकृतरुपमा  एकाएक म भित्रको घाम सदा झै उदाउन छोडिदियो । अनेकौ तर्कनाको आँधिहुरी म भित्र चल्न थाल्यो । म आश्चर्य  चकित भएँ, म फेरि तडपिएँ फेरि छटपटिएँ मैले कारण बुझ्न धेरै कोशिश गरेँ  ! धेरै खोज तलास अनि लामो  प्रयास पछि उसको एउटा  मित्रबाट थाहा पाएँ  उसले आफ्नै संसार बनाइसकेछ आफ्नो घरजम गरिसकेछ  !

मायाप्रेम भौतिक शरीरको प्राप्ति र  विवाहको लागि  मात्र होइन भन्ने थाहा हुँदाहुँदै पनि थोरै समय त पागल झैँ भएँ रोएँ, कराएँ, बेहोस् झैँ भएर बर्बराउदै हिंडे, किनभने मैले  त आफ्नो श्रद्धा, आदर्श, प्रेम, भक्ति, अनि सम्पूर्ण जीवन उसैमा समर्पित गरिसकेकी थिएँ।
 हरेक कुराको औषधी समय नै रहेछ । संसारलाई हेरेर धेरै समयपछि आफैले आफूलाई सझाएँ । यो संसारमा स्थायी रुपमा कोही कसैको हुन सक्दैन भन्ने महसुस गरेँ । जीवनमा कोहीसँग भेटिनु र छुट्टिनु त यौटा संयोगमात्र हो । जे जस्तो भए पनि उस्ले मलाई बिर्सन नसक्ने प्रेम दिएर गयो । म जति बिर्सन खोज्छु उसको याद उति नै मीठो बनेर मनमस्तिष्कमा सल्बलाउँछ । मैले सदैव माया गरेको मान्छेको जीवन सधैं सुखी र खुशी रहोस् म सँधै यही कामना गर्छु अनि म पनि  एउटा नयाँ उमङ्ग बोकेर जिउनेछु, एउटा अर्कै  नयाँ जीवन ।

आज "भ्यालेनटाइन्स डे "अर्थात प्रेम दिवस ! बर्सौ  देखि मनमा थाँती  राखेका मनका भावनाहरु एकर्कामा साट्न  सबै आतुर देखिन्छन् । जताततै प्रेमकै चर्चा छ । यो भ्यालेनटाइनको प्रेममय उत्सबमा टेलिभिजन, सञ्चार माध्यम सबैतिर   राता गुलाफका गुच्छा अनि रङिबिरङी  पोष्टकार्डरुका उपहार,  अनि प्रेमी प्रेमिकाको चहलपहल देखिन्छ। पटकाका उल्लासमय धुनहरु सुन्दा, हेर्दा आँफैलाई प्रश्न गर्छु, " के  सबैले प्रेमदिवस मनाउँदा म चाँहि प्रेम दिवस मनाउँन  नालायक अनि असमर्थ छु र ? "अहँ म नालायक छैन ।
मैले पनि त  कसैसँग प्रेम गरेको थिएँ, छु र गरिरहने छु । मेरो हृदयमा उसकैलागि मायाको भेल बगिरहेछ । समय बदलिए पनि परिस्थिति जे जस्तोसुकै  भए पनि  उसको  माया  मेरो मुटुमा अझै छचल्किरहेको छ।   म  चाहन्छु उ जहाँ भए पनि जस्तोसुकै अवस्थामा भएपनि उसको भौतिक शरीर मैले  नपाए पनि उसँगै सारा जीवन काट्न नपाए  पनि   मेरो हृदयमा मायाको सागर सधैँ उर्लिरहेकोछ सिर्फ उसैको लागि ! माया कुनै बस्त्र होइन नयाँ छँदा लगायो पुरानो भएपछि फाल्यो । माया त आइसियुमा दिने  अक्सिजन जस्तै हो जसले मानिसको प्रतिकुल, कठोर एवं पीडादायी क्षणमा समेत खुशी र जीवन प्रदान गरिरहेको हुन्छ ! म उसको मायालाइ सदैव अटल राख्नेछु । मेरो मंगलमय कामनाले उसको जीवन  सधै फुलोस फलोस ! उसको आशा  अनि रहरहरू  अजम्बरी बनेर नमुर्झाउने गरी  सँधै फक्रिरहोस युगौं युगसम्म ।सँधै मैले माया गरिरहेको नायक  उही मेरो  असिम हो !
उसको जीवन  निरन्तर बहिरहोस् भनेर कामना गर्ने किनाराको मन उर्फ म अदी  !





ब्लग सम्प्रेषक- भगवती वस्नेत

अदृश्य प्रेम, सीता बराल

फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट प्रतापका खबरहरु पाई रहेकी थिईन । प्रतापले आफ्नो जिन्दगीको महत्वपूर्ण दिन बिहेमा उनलाई निम्ता पठाएनन् । शर्मीलाको अफिस नजिकैको बोडीङ्ग स्कूलमा पढाउन आउने गरेका प्रतापले स्कूल छाडेर विदेश गईसकेको कुरा उनले केही महिना पछि मात्र थाहा पाईन । विस्तारै दिनहरु वित्दै गए । शर्मीला त्यस ठाँउमा रमाएर बस्न सकिनन । केही साथीहरुको सल्लाहमा उनि विदेश लागीन । शर्मीलालाई प्रतापले गरेको ब्यवहारले दुखेको भित्रीमन आज फेरि बल्झीयो । वितेका दिनहरुलाई बर्तमानमा कल्पदै प्रतापको रिक्वेस्ट एसेप्ट गरिन र तुरुन्त म्यासेज पठाइन । एकाउण्टमा भएका सुबिधाहरु प्रयोग गर्दै शर्मिला र प्रताप धेरै जसो फेसबुक अनलाईनमा कुरा गर्न थाले । दुबैजना देश बाहिर भएको चार पाँच वर्ष वितिसकेका थिए । परदेशमा भोग्नु परेका दुःख र पिडाहरुलाई लुकाउदै, आँखाबाट आसु झार्दै रुन्चे स्वर दबाउदै म सन्चै छु र यहाँ मेरो बारेमा चिन्ता लिनुपर्दैन भन्नुपर्ने बाध्यता दुबै जनाका एउटै थिए । अब उनीहरु दुबैले एकअर्कालाई पिडा विसाउने चौतारिको रुपमा पाए । दिनभरिका आफ्ना दुःख सुखका कुराहरु गरेर मन हल्का बनाउन पाउदा उनिहरुको विदेशी वसाई केही सहज महशुस गरेका थिए । छुटिको दिन दिनभरि नै जसो दुबै जना वितेका सबै कुराहरु गरिरहेका थिए । प्रतापले शर्मीलालाई आफुले एकदमै मन पराएका, शर्मीलाले कुनै तर्फ बाट पनि कुरा ननिकालेको हुनाले आफुले बिहेको प्रस्ताव राख्न नसकेको, प्रतापले पढाउने स्कूलको बाटो गरि शर्मीला अफिस जान लागेको थाहा पाएर उनलाई विर्सनको लागी प्रताप विदेश हिडेको कुरा खुलेर गरे । शर्मीलाले प्रतापलाई विगतका कुराहरु विर्सीएर वर्तमानमा आ आफ्नो कर्तव्य पुरा गर्न तिर लागौं है भन्दै सम्झाउदै थिईन । तिम्रै सम्झनामा आज सम्म बाँचिरहेको छु, म तिमीलाई धेरै माया गर्छु जस्ता प्रेमका शब्दहरु वर्षिइरहन थाले । प्रतापका कुराहरुले शर्मिलाको मनमा दविएर रहेको प्रेम आँसु बनेर आँखाबाट बगीरहे । प्रताप आफ्नो सामुन्ने भएको भए आज उनीहरु एकअर्कालाई अंगालेर आफ्ना मनका पिडाहरु पखालेर शान्त पार्ने थिए होलान । निष्ठुरी समयले सात समुन्द्र पारी पनि उनिहरुलाई साथ दिएन । साथीहरुको बिचमा एक्लो महशुस गरेका प्रतापले आज आफ्ना मनका कुराहरु एकोहोरो गरिरहदा शर्मीलालाई कता कता डर लाग्यो । लामो समयसम्म दुखेर खाटा वसिसकेको घाउ फेरि कोटीन थालेपछि त्यसले भयावह स्थिती ल्याउन सक्छ । आज म संग प्रतापको सम्बन्ध बढ्दै जादा यसले सामाजिक रुपमा नराम्रो असर पार्छ । एउटा पारिवारको बन्दै गरेको सुन्दर भविष्य भताभुङ्ग पारिदिन्छ । अब मैले विस्तारै प्रतापबाट टाढा हुनु नै पर्छ । मेरो कारणले प्रतापको परिवारको खुशी खोसीन हुदैन भन्ने सम्झदै लामो समयपछि फेसबुक मार्फत भेट भएर आफ्ना मनमा प्रताप प्रति रहेको माया पोखेर मन हल्का गराईदिने समय मिलाईदिएकोमा भगवानलाई धन्यबाद दिदै अबका दिनमा प्रताप संग कहिल्यै सम्पर्कमा नआउने निर्णय गरि मनभरि प्रतापको माया संगाली आँखा भरि विदाइका आँसु बगाउदै शर्मीलाले कहिल्यै नखोल्ने गरि फेसबुक एकाउण्ट बन्द गरिन ।
ब्लग सम्प्रेषक- सिता बराल

गीत

गीत

रहरले फुल्न खोज्दा बैगुनीले झार्छु भन्छ
अर्कालाई चोट दिइ मन खुशी पार्छु भन्छ


ढक्मक्क फुल्ने डाली हल्लाएर  झारिदियौ 
शीरमा लाउने फूललाई पाउतिर सारिदियौ
नडराइ सुनगाभा भिरमा नै सर्छु भन्छ
दुनियाँलाई देखाएर सौन्दर्य त्यो छर्छु भन्छ


किन रुन्थ्यो अचानो त्यो घाइते मुटु लुकाएर
बज्रिए नि खुकुरीले आफ्नो बल देखाएर

उठ्न खोज्ने पाइलाहरू  बीचमानै रोक्छु भन्छ
उषाको त्यो झुल्के घाम बादलले छेक्छु  भन्छ
ब्लग सम्प्रेषक- भगवती वस्नेत

गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।
ब्लग सम्प्रेषक- Yatri Shekhar

गीत


गीत

घाम झुल्की अस्ताइगयो जूनसङै तिम्लाई  मागे 
कुर्दा कुर्दै रातै बित्यो  परेलीका  निद भागे  


गाह्रो हुदो रैछ हजुर  प्रतिक्षामा बस्नुपर्दा,
कस्लाई पोखुँ बह मनको, आफ्नै भन्ने परसर्दा 
कति खुसि थिए आँखा, टह टह  जून हेरी 
झिलिमिली ताराहरु आशा छर्थे उसैगरी 

धेरै दियौ खुसिसंगै, जिन्दगीमा निरास  पनि
किन आउँछौ सपनीमा बल्झाउन घरिघरि
हुनन् सबै  सजाउन  योग्य मनको मझेरीमा
साँझ बिहान  डुल्छन  आँखा तिम्लाइ हेर्न पधेरीमा
ब्लग सम्प्रेषक- भगवती वस्नेत

'सेती पनि काली पनि' घुमेपछी


'सेती पनि काली पनि' घुमेपछी
दीप्स शाह
deepssanu@gmail.com

लेखनको क्रममा कुनै दिन एउटा नियात्रासङ्र्ह नेपाली नियात्रासाहित्यको भण्डारमा थप्ने जमर्को स्वरुपको तयारीमा रहेको यो समय म अध्यनार्थ नेपाली साहित्यका राम्रा,प्रभाबोत्पादक र झरी पछी छ्याङ्ग खुलेको आकाशजस्ता क्रिस्टल क्लियर प्रस्तुतिका नियात्रासङ्रहको खोजीमा छु। घरदेशदेखी टाढा रहनुको अभिशाप भनुँ चाहेका पुस्तक चाहेकै बखतमा कहाँ उपलब्ध हुन्छ र?? तर पनि नेपाली नियात्रासाहित्यमा हल्चल् ल्याइदिन सफल केही हस्ती मध्यका युवराज नयाघरे दाइका केही र प्रतिक ढकाल दाईका केही नियात्रासङ्ग्रहलाई सात समुन्द्र तारेर इजरायल ल्याइछोडेँ। यतिबेला मलाई एउटा प्रचलित हिन्दी उखान याद आइरहेको छ जो मेरो बाबाको पनि प्रिय उखान थियो। "देर से आए दुरुस्त आए।" यसो किन कि प्रतिक ढकाल नाम नेपाली नियात्रासाहित्यप्रती अलिकती पनि नजिक रहेका जो कोहिपाठकले जानेसुनेको नाम हो, उसोर फाट्फुट उहाका नियात्रा पढेकै थिएँ तर अहिले मेरो लामो र अथक प्रयासपछी मेरो हात परेको छ उहाका ५ नियात्रासङ्ग्रह ।

मेरो आफ्नै अनुभब हो कि पाठकले पुस्तक भेट्नु भनेको भोको ले खिर पाएको भन्दा स्वर्णिम सानन्दी पल हो। एकै रातमा उहाको चर्चीत पुस्तक 'सेती पनि काली पनि' छिचोलेँ। त्यही एक रातमा मैले आज भन्दा लग्भग दशक अघिको सुदुर पश्चिम नेपालको साङ्गोपाङ्गो फन्को लगाएँ। नियात्राभित्र पाठकलाई सुखानुभूतीमा डुबाउँदै अनेक प्रभाब पार्ने प्रतिक ढकाल ज्यु को प्रस्तुतीमा मलाई मन परेका मध्य एक अती महत्वपूर्ण पक्ष हो उहाको वर्तमानकेन्द्रित प्रस्तुती। अर्थात घटना प्रस्तुत गर्दा ढकाल ज्यु कतै पनि भूतकालमा नपसेर बडो चातुर्यतापूर्बक वर्तमानमै लम्किरहनुहुन्छ जसले गर्दा पाठकले हरेक घटना र स्थानमा तत्क्षण नै आँफैलाई हिंडाइरहेको हुन्छ, सरिक् गराइरहेको हुन्छ। म यता गैरहेको छु, यस्तो खाइरहेको छु, भर्खर उ! डाँडाको टुप्पो बाट तलको रमणिय फेदी हेर्दैछु। यसखाले वर्तमानिक् प्रस्तुतीको एउटा असाध्यै राम्रो पक्ष मेरो अनुभबमा चाँही घटना कहिल्यै पुरानो नलाग्ने।
'सेती पनि काली पनि' भित्र हिँडेको हिँड्यै गर्दा म आँफैँ धेरै भाबभँगिमामा उत्रिएँ। मेरो नेपाल बिशाल छ र भब्य छ यो सत्य हो देश लुट्ने द्रोहीहरुले जतिनै लुछेर चित्रो पारेपनी मेरो देश महान छ । तर अभाग्यबस् मैले मेरै देशको भब्यता, बिशालता र अलौकिक सुन्दरतालाई प्रत्यक्ष यि पाइलाले नाप्न पाएको छैन, यि हत्केलाले छाम्न पाएको छैन र यि जोर आँखाले नियाल्न पाएको छैन। यही कमी पुरागर्न पनि म नियात्रा पढ्नेगर्छु। प्रतिक ढकाल ज्युको 'सेती पनि काली पनि'ले मलाई प्रत्यक्ष सुदुर पश्चिम नेपाल घुमायो हातैमा समातेर बिचरी कुमारी दिपायलको आँचल ओढायो, त्यहीँ बाटमा चात्रो थापिरहेका युवतिहरुलाई दुई खिल्ली बिँडी किन्ने भेटी चढाएर मलाई अगाडि तानिरह्यो मङ्गलसेनको बाटो हुँदै अनिदो रातमा सुन्दै बिताएको मोटेदाइको रिदमिक घुराइका घटनासम्म। कल्पनाको उडानमा पाइतालाको ताल मिलाउँदै कहाकहाँ पुगेछु सुदुर्पस्चिमेली नेपाली दाजुभाइ दिदिबहिनीको भोक टार्ने बनेली झार हेर्दै राजाधानी बाट बेखबर ति बिकराल दैनिकीसङ्ग साक्षात्कार गर्न। कस्ता ठाउहरु! कल्पनाका लोक जस्ता लाग्ने, नेपाली देखेर नेपाली भागने कस्तो बिडम्बनाको हेलित पेलित जिन्दगी बाँचिरहेछ नेपालकै कुनाले नेपाली नै नाम बोकेर!!! स्तब्ध हुँदै बाटमा भेटिने चियापसलका बेन्चिमा बसेर चिया पिएका ति पल हुन् या गुन्द्रुके स्टाइलमा नाम मात्रका बसमा थेच्चिँदाका क्षण ,,म कतै रोएछु त कतै मुस्कुराएछु बझाङ्गे उकालीओरालिहरुमा। तर 'सेती पनि काली पनि' ले साह्रै बेर रुवायो मलाई टनकपुरको बाँधछेउमा। कठै!! सम्झौताको नाममा सौदागरिएको त्यो चर्चा ,,,भारत तिर सुसाउँदै बत्तिएको मेरो नेपाली जलराशी र त्यसइको बियोगमा उपेक्षित अनुहार फर्काएर सुक्खा रोइरहेको नेपाली बगर !! ओहो! कस्तो ठगी! कस्तो बेइमानी !! त्यो पनि नेपालीबाटनै!! कसरी आफ्नी आमाको लाम्टो काटेर बिक्री गरिरहेछन् निहित स्वार्थको लागि नेपाली नेत्रित्वबर्गले!! हो यस्तै यस्तै सोचेर निकै बेर छट्पटिएँ टनकपुरको डिलमा नेपाल आमाको घाऊ टन्केको त्यस बखत। समग्रमा भन्नुपर्दा नियात्राकार प्रतिक ढकालले नियात्राको फाँटमा जुन चर्चा जुन सम्मान पाएकाछन् त्यो अझै कमीलग्छ उनका नियात्रा पढिसकेपछी। नेपालका बिकट जिन्दगी, दरिद्र दैनिकी र करुण अवस्थाको साक्षात अनुभूत गर्न कि त पुग्नुपर्छ ति स्थानमा प्रत्यक्ष कि त पढ्नुपर्छ प्रतिक ढकालका यि नियात्रासङ्ग्रह। अनी बुझ्नुपर्छ सुबिधा भोगेर राजाधानी आसपासमा मोटाइरहेका भातमाराहरुले कि नेपाल काठमाण्डौ मात्रै होइन। कि नेपालीले तारे होटलमा डलरको बजार थाप्दा कतै बनेलु झार उसिनेर भोक टार्नेहरुको पनि देश हो नेपाल र ति पनि नेपाली हुन्।

सिङ्गो नेपालको यथार्थ अनुहार हेर्न चाहने जो कोही नेपालीमनले, नेपाली पाठकले एक पटक पढनै पर्छ यि नियात्रासङ्ग्रहहरु भनेर म जिकिर गर्छु। भलाई वारीष्ठ नियात्राकार प्रतिक ढकाल पछील्लो समयमा केही बिषयमा बिवादित बनेका छन् ,,सत्य के समयले बताउला नै । हाललाई म उनको अपूर्ब कौशलप्रस्तुतीका प्रभाबकारी नियात्रामा गहिरो डुब्दैछु। "पाठकले सर्जकको सिर्जना पढ्ने हो न कि उसको ब्यक्तिगत जिन्दगी।"
ब्लग सम्प्रेषक- दिप्स शाह

इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज


इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज --यात्रा संस्मरण
Deeps Shah
कामको एकरसतालाई बदल्ने यो मेरो एक चतुर्याइँ हो। केही दिन सम्मको घरमै बसाइ भएपछी म झक्झक्याउँछु मेरी अन्नदाता 'चिपोरा' लाई! जसको घरेलु नाम 'चिता' । "चिता! डन्ट यु थिङ्क उइ नट गोइङ एनिहोएर फर लङ् टाइम? आई गेस उइ ह्याभ टु बि फ्रेस लिटिल बिट!" कहिले तुरुन्तै गन्तब्यको चाँजो मिलाउन लाग्छिन भने कहिले टार्छिन उसै। तर बेलाबेलामा आएआँप गए झटारो गर्न भने म छोड्दिन।
एक बिहानको मेरो चतुर्याइँले रङ्ग देखायो। हामी लाग्यौँ एक सुन्दर घमाइलो बिहानीलाई जिस्क्याउँदै एकदिनको घुमघाममा। मेरो जन्मदिनको उपहार स्वरुप भनेर चिपोराले मिलाइन् इजरायलको एक असाध्य सुन्दर स्थान' हुला लेक' को घुमघाम। अक्टोबरको सुन्दर बिहानिलाई सजाएको थियो कलिलो घामले। इजरायली आकाश सफा निलो थियो ठ्याक्कै मेरो नेपाली आकाश जस्तो। छरितो स्कर्ट र टि शर्ट शरीरमा उनेर चिपोरालाई थन्क्याएँ कारमा। मेरो ब्याग पहिलेबाटै तयार थियो सानो डायरि, पेन, पानीको बोतल, सनग्लास, मेरो पुन्टे क्यामेरा, एकपोको टिस्यु पेपर यिनै खिच्रिङ्ग मिच्रिङ्ग आदी ले। घरको मूलढोका ताला मार्दै थिएँ उता चिपोरको भतिजा ले कार स्टार्ट गरिहाल्यो। संधै झैँ पछील्लो सिटमा बसेँ। बिहानको कलिलो घाममा चकिलो बातावरणलाई नियालेर मलाई कहिल्यै पुग्दैन। छहराको पानीमा भर्खर नुहाएर डिलमा गोडा खसालेर बसेकी षोडषी झैँ लाग्ने प्रकृतिको बिहानी सौन्दर्य हेरेर अघाउने कुन मान्छे होला र संसारमा!! कारको हुइँक्याइसङ्गै बाहिरको स्निग्धता नियाल्न भनेर सन्ग्लासलाई पनि टाउकोमा टस्काएँ। कारले गती लीन थाल्यो। संधै झैँ चिपोराका काका भतिज गफिन थाले। बिहानी समय, स्कुल, अफिस, कामकाजी मान्छेको चाप रहने हुँदा सडक खचाखच थियो। निकैबेर पछी याद गरेँ हाम्रो कार मुल सडक बाट अन्तै मोडीइसकेछ। निकै बेर देखी याद गर्दै थिएँ। यो हाँगे सडक अगिको सडक भन्दा शान्त छ, ट्राफिक बत्ती एउटा पनि छैन र ठाउठाउमा सडक माथि लम्बेतन फलामे ह्याङ्गरमा के के झुन्डिएका छन् क्यामेरा जस्ता लाग्ने। निकैबेर त्यो देखेपछी मैले चिपोरालाई सोधेँ ,यो सडक यती शान्त कसरी ?? किन ट्राफिक बत्ती पनि छैन र यो ठाउठाउमा माथि झुण्ड्याइएको के हो?? चिपोराको उत्तर थियो," दिस इज पेएबल रोड,एण्ड दोज ह्याङिङ थिङ्स आर क्यामेरा।" उनका अनुसार त्यसबेला हामी बत्तिँदैगरेको सडक पैसा तिर्नुपर्ने सडक रे। जहाँ कुनै ट्राफिक क्रसिङ्ग र बत्ती छैन। छोटो र सिधा हुनेहुँदा हतारो हुनेहरु यही सडक प्रयोग गर्दारहेछन्। प्राइभेट सडक भनेपनी हुने त्यो सडकको ठाउँठाउमा मुल सडक छोडेर बाहिरिने हाँगे सडक थिए। त्यो सडक प्रयोगकर्ताले किलोमिटरको हिसाबले बिल तिर्नुपर्दो रहेछ। ति ठौठाउमा माथि झुण्ड्याइएका क्यामेराले गाडीको नबरप्लेटको फोटो सहित गूडेको किलोमिटरको गणना र हिसाबकिताब् रेकर्ड गर्दो रहेछ। र पछी बिल पठाउँदोरहेछ। कुरो सुनेर मलाई अचम्म लाग्यो। सडकमा गूडेको पनि पैसा तिर्नपर्ने?? सबैतिर त नपर्ने ,के छ यो सडकमा त्यस्तो खास्?? यि सबै सोधाईको जवाफ पाएपछी भने चित्त बुझ्यो मेरो। कुरो कस्तो रहेछ भने जनताको आवश्यकता र सुबिधा अनी पुँजी को लगानिको उचित तालमेललाई हेर्दै ठुलाठुला ज्वाइन्ट कम्पनीहरुले यस्तो बाटो निर्माण गर्दारहेछन् सरकारसङको निस्चित शर्त र मापदण्डमा । जुन बिना ट्राफिक झन्झट सजिलै र छिट्टै गन्तब्यमा पुग्न सकिने हुनाले हतारमा रहेकाहरु यही सडकबाट गूड्दा रहेछन र पैसा तिर्दारहेछन्। आजको यान्त्रिक समयका मान्छे न हुन् कस्लाई हतारो हुँदैन र? त्यसो र यस्ता सडक प्रयोगकर्ताको खाँचो हुने कुरै भएन। यसरी सडक निर्माण गरेपछी निर्माणकर्ता कम्पनिले उद्घाटनको २५ बर्ष सम्म प्रयोगकर्ताहरुबाट पैसा उठाउँदोरहेछ। र २५ बर्ष पछी उक्त सडक स्वत:: सरकारी सम्पत्ति हुनेरहेछ। क्या गज्जब! मलाई यस्तो तरिका मन पर्योि।
यसो गरिँदा १:पुँजिवालाहरुको पुंजिको उचित लगानी र सन्चालन,२: जनताले निस्चित रकम तिरेर बढी सुबिधा प्राप्त गर्न सक्ने, ३:देशको निर्माण कार्यमा टेवा पुग्दै दिर्घकालिन उपलब्धी पनि हुने।
खैर हामीमा यो पद्दती, लगानिको सुरक्षित बातावरण , दिर्घकालिन सोच र सरकारी संयन्त्रको चुस्त परिचालन् खासै भइनसकेको मुलुकमा यो त्यती प्रभाबकारी नहोला पनि। मेरो सोचको भुल्को भुल्किंदैगर्दा कारले हामीलाई हुला लेकको छेउमा पुर्याइसकेछ। कार पार्किङ गरेर टिकट किनिसकेपछी एउटा कभर्ड वागन (हेर्दा गल्फ कार जस्तो देखिने साधन) मा बसेर लाग्यौँ हुला लेकको सुन्दरता नियाल्न। टिकट काउन्टरबाट एउटा टि.भी रिमोट कन्ट्रोल जस्तो उपकरण पनि थमाइएको थियो हामीलाई.
हुला लेक उत्तरी इजरायलमा अवस्थित एक अती महत्वपूर्ण स्थान हो। जुन स्थान बिसौँ शताब्दीको सुरुवात तिर सम्म एक उपेक्षित ठाउँ थियो बिकराल मलेरियाको कारण। त्यसपछी सरकारी तवरबाट हुला लेक लाई पूर्णत: सुकाएर बिबिध औषधी किटनासक रसायनहरुको प्रयोगपछी मलेरिया मुक्त घोषित गरी सर्बसाधारणको लागि खुल्ल गरिएको अती मनोरम प्राकृतिक चित्ताकर्षक स्थल बनेको रहेछ। मलेरिया मुक्त घोषणापछी खेर्मोन को हिउँपहाडबाट पानी ल्याएर पुन: भरेपछी अहिले माइक्रो सिस्टम अनुसार लेक भित्र पानी जीबजनाबर, चराचुरुङ्गि , फ्लोरा-फाउना जस्ता स्थान बिशेषमा पाइने जीब-बनस्पतीका निमित्त पनि एक स्वर्ग बनेको रहेछ । समग्रमा हुला भ्याली भनेर चिनिने त्यो ठाउँ बिशेषगरी जाडो मौसमको सुरुवात सङ्गै जाडो छल्नका लागि युरोपबाट बथानका बथान चराहरु यहाँ आइपुग्दा रहेछन् र केही महिना यहीँ रहँदा रहेछन्। त्यसरी भेला भएका हजारौँ लाखौं चराहरुको बथानले कृषिबालिमा नोक्सान नपुर्याउन भनेर इजरायली सरकारले हजारौँ टन दाना गेडागूडी त्यहीँ भ्याली भित्रै उपलब्ध गराउनेरहेछ र त्यही मौकाको सदुपयोग गर्दै धेरै भन्दा धेरै प्रजाती चराहरुको एकमुस्ठ बसाइको अदभूत प्रदर्शनमा देशी बिदेशी पर्यटक पनि भित्र्याउँदोरहेछ। आफु त संसारकै सुन्दर प्राकृतिक हरियालिदेश बाट आएको न परेँ , प्रकृतिक सुन्दरता भनेपछी खान पनि भुल्ने मान्छे। खुशीले फुरुङ्ग हुँदै कभर्ड वागनमा सवारी चलिरह्यो। अगी काउण्टरमा दिइएको रिमोट कन्ट्रोल जस्तो उपकरणको पनि निकै पो काम रहेछ। भ्यालिमा घुम्ने एउटा ब्यबस्थित नक्सा र निर्दिष्ट दिशा रहेछ। र ठाउँठाउँमा नम्बर लेखेर बोर्ड राखेको रहेछ। घुम्दै जाँदा जती नम्बर लेखेको बोर्ड नजिक पुगिन्छ त्यो उपकरणमा त्यतिनै नम्बर थिच्दा आफु उभिएको स्थान ओरिपरि के के जीब पाईन्छन् , कस्ता बनस्पती पाईन्छन् र केके का लागि उपयोगी हुन्छन् जस्ता अनेक जानकारी रेडियोले झैँ फरर भन्दोरहेछ।
अचम्मका पानी हांस, बिभिन्न प्रजातिका चराचुरुङ्गि, पानी भित्र रहने एकखालको मुसा प्रजातिको जीब, परपर सम्म टाउको उठाएर टिल्टिल हावामा हल्लिरहेका सुनौला फूलपातहरुको अदभूत सुन्दरता नियालेर लग्भग आधा दिन घर्केपछि हाम्रो फिर्ती यात्रा सुरुभयो गलिलिको बाटो हुँदै। यतिबेला सम्म घुमघामको मज्जा सङ्गै भोकले साम्राज्य फिँजाइसकेको थियो। बाटोमा पर्ने एक ऐतिहासिक रेस्टुरेन्ट जसको नाम रहेछ 'चिकेन इन बास्केट' मा दिउसोको खाना खाएर यात्रा सुचारु गर्ने सल्लाह बमोजिम हाम्रो कार मोडियो त्यतै। जुन रेस्टुरेन्ट लग्भग इजरायलको स्वतन्त्रताकै ताका दक्षिण अमेरिकाबाट बसाइँ आएको एक धनाढ्य याहूदीले सुरुगरेको इजरायलको एक प्रसिद्द रेस्टुरेन्ट र घोडा फार्म रहेछ र उहिल्यै जवानीका दिनमा कहिले सुटुक्क जोडी त कहिले पारिवारिक रमाइलोमा चिपोरा धेरैपटक पुगेको र रमाएको रेस्टुरेन्ट पनि रहेछ। टेबल घेरेर बसेपछी मेनु लिएर वेटर आइपुगुन्जेल यती भनिभ्याइन उनले। निकै सफा, आकर्षक र ब्यबस्थित अनी खचाखच त्यो रेस्टुरेन्टको नाम त्यहा पाइने एक खाध्यपदार्थ सङ्ग जोडीएको रहेछ। साना साना भुरा कुखुराको सबेटा खस्रो पिठोमा मलेर डीप फ्राइगरेपछी सानो चिटिक्कको बांसको टोकरीमा राखेर ल्याइँदोरहेछ र त्यसको नाम रहेछ 'चिकेन इन बास्केट' । त्यही नाम नै रेस्टुरेन्टको नाम पनि रहेछ। सुन्दा रमाइलो लाग्यो र हामी तिनैजानाले खानाको मेन आइटम सङ्गै एक एक चिकेन इन बास्केट पनि अर्डर गर्यौँ। भोकले थाल खानु कि भात भएको बेलामा खाना आइपुग्यो अगाडि। खाना हेरेपछी त हामी तिनछक! चिकेन इन बास्केट त चिकेन इन डोको जस्तो पो रहेछ! एकै भागले तीन जाना त्रिप्त हुने जस्तो रहेछ तर हामी तीन को अलगलग बास्केटले राम्रै हंसायो । अझै मैले चिपोरालाई भनेँ पनी तिम्रो जवानीको पानीपंधेरो रेस्टुरेन्टको परिकारको मात्रा तिमीलाई थाहा थिएन त? पहिलाई भनु पर्थ्यो नि! उनको जवाफ थियो," लङ टाइम आ'म् नट हियर , सो आइ फर्गोट।"
साह्रै रमाइलो बातावरणमा खाना खाइओरी म फ्रेस रुममा पसेको त फर्किँदा टेबुल घेरेर दुई तीन वेटर वेट्रेस एक सानो थालिमा झिर्झिरे मैनबत्ती सहित सानो केक बोकेर "ह्याप्पी बर्थ डे! ह्यापी बर्थ डे!" भन्दै मलाई पर्खिरहेका रहेछन्। म एकछिन नभएको मौकामा चिपोराले मेरोलागी त्यो सर्प्राइजको बन्दोबस्त गरीभ्याइछिन्। एक्छिन स्तब्ध बनेँ र सबैलाई धन्यवाद भनें बिशेष चिपोरालाई। आफ्नाहरुबाट टाढा दूरदेशमा रहँदा पराइले देखाएको यो आत्मियताले साच्चै नै आँखा सजल भए र परम्परा नभएपनी मेरो खुशीको ख्यालगरी जन्मदिनको खुशीयालिमा परको मिठाइ पसलदेखी सुटुक्क केक किनेर मुस्कुराउँदै घर आउने मेरो राजाको अनुहार झल्झली त्यही झिर्झिर गरिरहेको मैनबत्तिको शिखामा कल्पिँदै एकछिन निक्कै भाबुक बनेछु। केक काट्ने र खाने कार्यक्रमको समाप्ती सङ्गै हाम्रो कार हुइँकियो घर तिर। बाटाभरी अगिको पैसा तिर्नुपर्ने रोड, हुला लेकको अलौकिक सौन्दर्यता, चिकेन इन बास्केटको चिकेन इन डोको साइज र सर्प्राइज बर्थ्डे विशको दृष्या मनभरी झिकिलमिलिक गरिरहे। मनमनै अंकित गरेँ,"मेरा महत्वपूर्ण घुमडुलको डायरिमा आजको दिन पनि उध्रित हुनेछ।"
ब्लग सम्प्रेषक- दिप्स शाह

कविता - स्वनिर्भरताको आह्वान

नुत्से हिमाल चिथारेरै
सगरमाथा पुग्नु छ l
अहिले सम्म नचढिएका
हिउँलेक खोस्रेर अब,
लाग्नु छ उकालो-

कुर्ने होइन साथी !

प्रकृतिक प्रलयको
-प्रकृति प्रकोप अग्रिम ज्ञान-
आलय सृजना गरेर
बाँच्ने आधार कोर्नुछ l

अठारौँ शताब्दीको फड्के
उखेलेर फालिदेऊ !
२१सौं शताब्दीका बिपनाहरु
आइनस्टाईं भएर जन्मिन्छन् l
अचेतको टाँडमुनि सुक्सुकाएर
भवितव्यमा आँशुहरु नपोखाउनू !

भाववेदनाका जुलुसहरुमा
आफूलाई समर्पण गर !
यो धर्ती तिम्रै हो,
तेसो र यही धर्तीमा विज्ञान छ l
उम्रिन्छ- फूल्छ -फल्छ-
दिमागी दैलो उघारेर हेर !
देश बाहिर कहाँ छैन दैवी प्रकोप ?
सयौं मुटु टुक्रिएर झरे होलान्
आँशुको नदिमा कति मरे होलान् ?
सुन ! बोलेका छन् त्यहाँ चट्टानहरु
र त बलेका छन् हिउँका पहराहरु-

..
रातो पासपोर्ट बोकेर
देशको सपना खोज्नेहरुसंग
नसाट अब,
आशा र भरोसाहरु-
तन्नेरी रहर र कुमारी वैंशहरु-
काटिएका पाखुरीहरुले
चेतनाको मुट्ठी उज्ज्याएर
दिर्घगामी बनाउँदै,
स्वचिन्तनको गीत गाउँदै-गाउँदै
यो चिहानघरीमा उकालेर
प्रविधिशालाको सिर्जना गर्नू !
र बाँच्नु-बचाउँनू आफ्नै छाती र टाउको l
युद्धै युद्धले समवेदना हराएको देशमा l
ब्लग सम्प्रेषक- मनु लोहोरुङ राई

गजल (आँशु झारी बसिरहेँ )


गजल (आँशु झारी बसिरहेँ )


आँशु झारी बसिरहेँ तिम्रो छेउ सर्न सकिन
हेर्दा हेर्दै पराइ भयौ तिम्लाइ माया गर्न सकिन

थाहाछैन कस्ले पार्यो हाम्रो प्रेम दुइ किनारा
बिछोडमा तड्पिएर आफू एक्लै मर्न सकिन


सजल ती नयनमा देख्ने गर्थे आफ्नै संसार
प्रेमिल त्यो मौसममा गुलाब बनी झर्न सकिन


मेरै ठान्थे स्वप्न तिम्रो सजिएछ अर्कै मुहार
निरस यो जीवनमा मधुमास छर्न सकिन


जिन्दगीमा खोज्दा खोज्दै थाकिसकेँ जिउने आधार
दुख्छ मुटु झर्छ आँशु खुशियाली भर्न सकिन



ब्लग सम्प्रेषक- भगवती वस्नेत

नेपाली नम्बर प्लेट


    सवारी साधनलाई यातायात सेवा  भनिन्छ!  र यही यातायातका साधनलाई  ब्यबस्थित गर्ने कार्यालय नै  यातायात व्यवस्था कार्यालय हो| सवारी साधनलाई यातायात कसरि भनियो भन्ने यकिन त मलाई नि थाहा छैन तर खलासिहरुले यात्रुहरुलाई यता यता भनेर तान्ने, कोहि ट्रान्सपोर्टमा सामानको लागि यता यता भनेर कराउने हुनाले यता यता भन्दा भन्दै यातायात भएको हुनसक्छ कि त यताका मान्छे उता उताको सामान यता सवारीले गर्ने हुनाले यता उता भन्दा भन्दै सजिलोको लागि यातायात भनौ न त भनेर भनिएको हुनुपर्छ भन्ने मेरो अनुमान छ|  र यही यातायातको साधनलाई नियम अनुसार चल्न निर्देशन दिने र आबस्यक ब्यबस्थापन गर्ने कार्यलयलाई यातायात ब्यबस्था कार्यालय भनिन्छ |  साथै  सवारीको नामाकारक समेत यहि कार्यालयले नै गरिदिन्छ|          

               जसरी मानिसहरुलाई चिन्नका लागि उसका आफन्तहरुले जोडका तोड, राम्रा भन्दा राम्रा नाम राखिदिन्छन त्यसरी नै सवारी साधनलाई पनि चिन्नका लागि यातायात व्यवस्था कार्यालयले सवारी नम्बर प्लेट दिएर न्वारन गरिदिन्छ| तर मान्छे र सवारी साधनमा राखिने नाममा राखिने नाममा अल्ली फरक छ| नेपाली समाजको नामाकरण हामीलाई थाहै छ! लाटाको नाम “आवाज”, वैराको नाम “कर्णदास”, अन्धाको नाम “त्रिलोचन”, कानाको नाम “नेत्रप्रसाद”, सुकुम्बासीका सन्तान “धन बहादुर”, मानसिक रोगीको नाम बुद्धिसागर”.........राखिन्छ जो हामीले देखे भोगेकै छौ| तर सवारीमा भने सवारी साधनको प्रकृति हेरेर एकैनासले गरिदिन्छ| हुन त यहाँहरुलाई लाग्ला नाम त उत्पादक कम्पनीले नै दिएको हुन्छ नि कुन कम्पनि हो सोहि अनुसार भन्ने तर ती त उसको थर हुन् जसले त्यसलाई पैदा गरे|
             नाम त हरेक देशले आफ्नै नियम कानून अनुसार फरक फरक किसिमले गरिदिन्छन| खैर जुन देशले जसरि गरोस तर नेपाल ले भने आफ्ना सवारीलाई उचित नम्बर प्लेट उपलब्ध गराएको छ यस्तो नम्बर प्लेट अरु देशले उपलब्ध गराउन सक्दैनन भन्ने मेरो जिकिर छ! अब हेर्नुस सवारीको नम्बर प्लेट कसरि निर्धारण गरिन्छ?
                   कुन अन्चलमा दर्ता गरेको छ  हो त्यहि अंचलको पहिलो अक्षर शुरुमा लेखिन्छ अनि त्यसपछी कुन सवारी कति औं नम्बरमा दर्ता छ भनेर अंकले जनाइन्छ! जुन प्रति दश हजार एकाइमा लेखिएको हुनुपर्छ! जस्तो १ देखि ९९९९ सम्म  बा. १, त्यसमाथि बा २ यसरि नै लेखिन्छ यदि बागमती अंचललाई उदाहरणको रुपमा लिने हो भन| त्यसपछी राखिने अक्षर जुन छ त्यसमा यौटा कहानी लुकेको छ जो सबैले बुझ्दैनन! आर्मी पुलिसको कोड भाषा झैँ यातायात व्यवस्था कार्यालयको कोड त्यसभित्र लुकेको हुन्छ|
      मलाई जस्तै कौतुहलता जागेको होला कि नम्बर प्लेटको माथिल्लो पट्टि अन्तिममा लेखिने अक्षरको अर्थ के हो र कसरी राखिन्छ बुझिराखौ! 
       कम कर तिर्ने, कलंकित कम्पनि या कारखानाका सवारी छन् भने तिनीहरुलाई “क” ले जनाइने रहेछ! जस्तो: बा १ क...
      खोयाबिर्को खाने, खलासीले चलाउने र खोलातिर हाल्ने भाडाका सवारीलाई “ख” लेखिने रहेछ| जस्तो बा-१ ख..भाडाका बस ट्रक यसका उदाहरण हुन!

  गभर्मेन्ट का गोलि गठ्ठा बोक्ने र गभर्मेन्टका गुण्डाहरु चढ्ने सवारी साधनको अन्तिम अक्षर “ग” लेखिन्छ|आर्मी पुलिसका सवारी यसका उदाहरण हुन! जस्तो बा १ ग
  सर्वसाधारण जनतालाई घात गर्ने घातक संघ संस्था र घुसखोरीले घायल भैसकेका कम्पनीको सवारी साधनको नम्बर “घ” राखिन्छ! जस्तो बा १ घ
   चुतिया चाकरीबाज चढेर चारै तिर घुम्ने तर इमान्दार पेसेन्जर चढाउने अनुमति नदिएका चारपांग्रे सवारीलाई अन्तिम अक्षर “च’दिइन्छ| त्यसैले कार को नम्बर प्लेट बा १ च हुनेरहेछ|
    जहाँपनी  रोक्ने, जसलाई पनि जाक्ने तथा जथाभावी भाडा उठाउने तर जाँचबुझ भएपनि जरिवाना नतिर्ने सवारीलाई नम्बर प्लेटमा “ज” राखिन्छ| जस्तो माइक्रो बस, ट्याक्सीका नम्बर बा १ ज हुन्छ|
  झुटो मात्रै बोल्ने, झ्याप भएर हिड्ने र झिना मसिना कुरामा झगडा गर्ने नेताहरु चढ्ने सवारीको नम्बर प्लेटमा  “झ” राखिन्छ|
पैसो नभएका पाखेले समेत चढ्ने, प्रहरीले नियम परिवर्तन गरिरहने पछाडी चढ्न नपाइने, पुलिसले पासो थापेर पैसो लिइरहने र पिण्ड चाडै खान मन गरेकाहरुको सवारीमा “प” राखिन्छ| जस्तो मोटरसाइकल
हावा प्रदुषण धेरै गर्ने हाम्रो हैसियत अनुसारको हरामी सवारी साधनलाई  नम्बर प्लेटमा “ह” अक्षर दिईन्छ! जस्तो बा १ ह, विक्रम टेम्पु यसको उदाहरण हो|
    यस्तो उचित नम्बर प्लेट कुनै पनि देशले लागु गर्न सक्दैन भन्ने मेरो ठहर छ| 

प्रतिकृयाको लागि                                                                                                                अविरल यात्री  
adhikariabiral@gmail.com
ब्लग सम्प्रेषक- अविरल यात्री

गीत -फूलको रङ्ग चोरीचोरी

गीत -फूलको रङ्ग चोरीचोरी

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

नटिपिने जून तारा किन चाहियो तिमीलाई
नछुटिने मिठो माया सुम्पिदिन्छु संधैलाई
सरिताको धून खोसी तिमीलाई म सुनाउदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन.....

नभेटिने क्षितिजको रहर किन तिमीलाई
यो छातीको बिशालता तिम्रै त हो संधैलाई
नपुगिने गन्तब्यको कहानी म रुचाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन ...

ब्लग सम्प्रेषक- दिप्स शाह

मानिस


लाखौ मानिसको भिडमा उभिएको, हजारौ बीच जिएको र सयौ बीच चिनिएको म पनि यौटा मानिस!
   चिनेका मध्ये कयौले मलाई अचेल सोध्छन 
 हैन अचेल तँ कता हराएइस हँ? कहिँ पनि देखिदैनस नि! मेरो रेडिमेड उत्तर होलसेलमा सबैलाई एउटै हुन्छ कामको व्यस्तता!” कत्रो न लछारिएको काम गरे झैँ! ;), तर म एउटा ठुलै अनुसन्धानमा लागेको छु भन्ने सोध्नेहरूलाई के थाहा? म कसैले नभेट्ने गरि नै लुकेको चै हैन तर पनि धेरै माझ देखा नपरेको सत्य हो! म भित्र भित्रै आजका अमान्छेहरुलाई किन नेपालीमा मानिस भनियो? भन्ने अनुसन्धानमा नै थिए! अनुसन्धानका केहि प्रतिवेदन यहाँ पेस गरिहालौ|
   मेरो यो अनुसन्धान अहिलेका जल्दाबल्दा कविहरुले विशेष प्रार्थमिकता पाए! उनीहरुलाई अध्ययन गर्दा वाद निर्माणमा व्यस्त भेटियो! जसमा रंगवाद, बहुरंगबाद, आधुनिकतावाद, उत्तरआधुनिकताबाद, चैताम्यवाद पागलवादहरु त सार्वजनिक भैसकेको पाएँ! अब कस्ता कविता कुन बाद भित्र पर्छन त भन्ने छोटो चर्चा गरिहालौ! तलको लेख पढेर तपाई आफु के वादी कवि हो छुट्याउन समेत सक्नुहुनेछ|
  रंग न ढंगका कविता लेख्ने र पाठकहरुको माझमा रमिता देखाउने कविता रंगवाद भित्र पर्दछ! यसैको विस्तारित रुप बहुरंगवाद हो! पाठकले कविता पढेर रमिता सम्झने र लेखक भन्दा पाठक नै ठिक हामी त, भनेर मुल्यांकन गर्न लाएक कविता बहुरंगबाद भित्र पर्दछ|
 यौन बिम्ब, प्रणय भाव र आधुनिक फेसन जस्तो मनमा जे आयो त्यहि लेखिएको कविता आधुनिकतावाद भित्र पर्दछन| किनकि आधुनिकतालाई टुक्र्याएर हेर्नुस आधा+उनि +कता? मिलेर बनेको हुन्छ, यसको शाब्दिक अर्थ लगाएर हेर्ने हो भने मेरो पूर्ण जीवनकी आधा उनि कता छिन त? भन्ने अर्थ दिन्छ| त्यसैले केटाले केटि खोज्ने र केटीले केटा खोज्ने प्रेम साहित्य आधुनिकतावाद भित्र पर्दछ|
   आधुनिकतावादको उत्तर पाइने अर्को साहित्य फाँट हो उत्तर आधुनिकतावाद! केटाले केटि खोज्ने र केटीले केटा खोज्ने साहित्य आधुनिकतावाद हो भने आफुलाई आवश्यक रहेको जोडी देखाउने काम उत्तर आधुनिकतावादको हुनुपर्छ भन्ने मेरो अहिले सम्मको ठहर छ|
  त्यस्तै अर्को छ चैतम्यवाद! शब्दहरुको उजाड पहाड खडागर्ने तर पहाड फोर्दा चट्टान बाहेक हात नलाग्ने खालको सिर्जना यो वादभित्र पर्दछ| जस्तो चैतको खडेरीमा कहिँ मूल पलाउँदैन त्यस्तै केहि रस नभेटिने सुख्खा कविता अर्थात् अर्थ न बर्थका शाब्दिक थुप्रोलाई चैताम्यवाद भित्र हालिने रहेछ|
   अन्तिम छ पागलबाद, पागलकविहरुले लेख्ने र अर्धपागलहरुले मन पराउने अराजक कविता पागलवाद भित्र पर्दछन!
   यी सबै वादहरुको निर्माण गर्नुको मुख्य कारण हो अहमबाद| अहमबादी कविहरु आफु बाहेक अरु सबैलाई भुस देख्छन र उनीहरुले लेखेका कविता पाठकले बुझ्न सक्तैनन भन्ने आज सम्म उनीहरुको मान्यता छ|
      अब लागौ देशका नेतातिर! देशको मूल कानून लेख्ने समयमा नेपालका नेता महासयहरु कुर्सीको खिचातानी गर्ने काममा ब्यस्त भएर संबिधानको कुरामा साम्यबाद लागु गरेको कुरा मलाई कत्ति चित्त बुझेको छैन| मन्त्रालय बाँडफांडमा अराजकतावाद लागु गरेर देशको संबिधान लेख्ने काममा किन साम्यबाद प्रयोग गर्दैछन त? देशलाई टाट पल्टाउन खोज्ने अराजकबादी नेताहरुमाथि हस्तक्षेप गर्नसक्ने जनताहरु किन चुपचाप छन भन्ने कुरा भर्खर अनुसन्धानले पत्ता लगायो कि पालैपालो ६०१ जनालाई प्रधानमन्त्री हुने चान्स दिने र त्यतिन्जेल पनि संबिधान नलेखिए अरु कुनै देशलाई संबिधान लेख्न लगाएर हाम्रो हक अधिकार सुरक्षित गर्ने देशबासीको चाह रहेछ|
   भर्खरै समाचारमा सुनियो भरतपुर हस्पिटलमा घाँटीको अप्रेसन गर्न भर्ना भएकी महिलाको, डाक्टरहरुले पाठेघर निकालेर फालि आफ्नो उग्रबाद प्रदर्शन गरे| यस विषयमा पनि मैले ठुलै अनुसन्धान गरें कि किन त्यसो गरियो?  ती अप्रेसनमा खटिएका डाक्टर परियार रहेछन अविवाहित! त्यसैले उनि यौन सम्बन्धि हरेक अप्रेसन सफलताका साथ गरेर आफ्नो जवानीको चमत्कार देखाउन चाहने रहेछन! यदि ती म्यारिड थिए भने घाँटीको अप्रेसन गर्ने बिरामीको पाठेघर खोज्न कसरि जान्थे त! यसको जवाफ उत्तरआधुनिकतावाद ले पनि फेला पार्न मुस्किलै छ| केहि विशेषज्ञहरुले त के पनि अनुमान गरे भने यो मानेमा राम्रो भयो की, धन्न घाँटीको अप्रेसन गर्नुथियो र डाक्टर पाठेघरमा अडिए, यदि छातीको अप्रेसन गर्नु थ्यो भने ती उग्रबादी डाक्टरहरले कुन अंग झिकेर फाल्दिने रहेछन त? हामी मनमनै अनुमान गरौ!
   म आफु मूल विषयबस्तुको केन्द्रभन्दा बाहिरे रहेर किन यी हरेक क्रियाकलापहरु नियाली रहेको छु भन्ने खुल्दुली चलेको होला! मैले पनि यौटा वाद निर्माण गरेको छु त्यो हो बिकेन्द्रबाद! बिकेन्द्रवाद भित्र हरेक मानिसका यस्तै कामहरुको अनुसन्धान हुन्छ| यो मानेमा मलाई पनि बिकेन्द्रबादी भन्नु भयो भने मलाई असहज हुनेछैन|
     म किन आजका अमान्छेहरुलाई मानिस भनेर नेपालीमा नामाकरण गरियो त भन्ने कुराको अनुसन्धानमा नै छु! माथि उल्लेख गरिएका अहमबाद,अराजकतावाद, साम्यवाद, उग्रवाद र बिकेन्द्रवादलाई सम्मान गर्नसक्ने को छ त अब? कसले यिनीहरुको मान मर्यादा गर्ने र राख्ने? त्यसैले हामी आफ्नोमानलाई लोप्पा खुवाउँदै मान+इस् = मानिस भएका रहेछौ!


                                       प्रतिक्रियाको लागि
                                         अविरल यात्री
                                    adhikariabiral@gmail.com 
ब्लग सम्प्रेषक- अविरल यात्री

धेरै भयो सम्झनामा

धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो
मनको बागमा परिरैछ हरदम तुषारो
झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको
उकाली र ओरालिमा तिम्ले सघाएको

युगै भयो सपनिमा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको
धेरै भयो सम्झनामा.....

कल्पनामै आएपनी मनमा खुशी फुल्थ्यो
तिम्रै नाम फूलपात डालीडाली झुल्थ्यो
याद आउँछ सँगसङ्गै खुशी सजाएको
सुसेलिको भाका हाली नजिक बोलाएको

धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

दीप्स शाह
12/8/2011
ब्लग सम्प्रेषक- दिप्स शाह
 
साहित्यसंसार ब्लग ©2010